१४ बैशाख २०८१, शुक्रबार

प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ


education

बेझाड, २३ वैशाख । जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पामा प्राविधिक शिक्षा सञ्चालन गर्न श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञानमहायज्ञ आजबाट शुरु हुँदैछ । महायज्ञमा पण्डित नारायण न्यौपानेबाट सङ्गीतमय शैलीमा कथावाचन हुनेछ । महायज्ञ यही वैशाख ३१ गतेसम्म हुनेछ ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । दुर्गम क्षेत्रमा अवस्थित यस क्षेत्रका विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गर्न अन्यत्र जानुपर्ने बाध्यता छ । वडाभित्रमा सञ्चालित एकमात्र मावि तहको यस विद्यालयमा महायज्ञबाट सङ्कलित दान रकम प्राविधिक शिक्षामा लगानी गरी गाउँमै बसेर प्राविधिक शिक्षा पढ्ने वातावरण तयार पार्न महायज्ञ सञ्चालन गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक गिरमान आले बताउनुहुन्छ ।

महायज्ञ अवधिभर रु एक करोड ५० लाखदेखि दुई करोडसम्म दान सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । प्राविधिक शिक्षा सँगसँगै महायज्ञबाट सङ्कलित रकम भौतिक पूर्वाधारमा खर्च गरिने बताइएको छ । भौतिक पूर्वाधार अभावका कारण झट्टै नै प्राविधिक शिक्षा सञ्चालन गर्न नसकिएको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्म अध्यापन हुँदै आएको यस विद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा पठनपाठनमा विद्यालयले सास्ती खेप्नुपरेको छ । कक्षाकोठाको अभावमा हाल कक्षा बाल विकासदेखि १, २ र ३ का विद्यार्थी विज्ञान प्रयोगशाला, पुस्तकालय, कहिले खुल्लाचौरलगायतका स्थानमा राखेर शिक्षण गर्न बाध्य भएको प्रधानाध्यापक श्यामबहादुर दिशाले बताउनुभयो ।

विद्यालयमा लागत सहभागितामा निर्मित सात वटा, पुस्तकालय, पुरानो परियोजनाको भवन गरी १९ कोठा रहेका छन् । हाल चार कोठे भवन निर्माणको क्रममा रहेको छ भने थप १० कोठा आवश्यक रहेको विद्यालयले जनाएको छ । हाल यस विद्यालयमा ५५० विद्यार्थी भर्ना भएका छन् भने गत शैक्षिक सत्रमा ५१० विद्यार्थी रहेका थिए ।

ज्येष्ठ नागरिकलाई सम्मान

रामपुर नगरपालिका–४ को कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाभित्र रहेका ८० वर्ष उमेर पूरा गरेका ३३ ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । नगर प्रमुख रमणबहादुर थापाले आइतबार छाता र झुल वितरण गरी दोसल्ला ओढाएर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभयो ।

थापाले समाजलाई वर्तमान अवस्थासम्म ल्याउन ज्येष्ठ नागरिकले महत्वपूर्ण भूमिका खेले पनि अहिलेसम्म राज्यले उचित व्यवस्था गर्न नसकेको उल्लेख गर्दै पछिल्लो समयमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

वडाले ज्येष्ठ नागरिकको सम्मानको प्रयासस्वरुव रकम विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष एकबहादुर नेपालीले बताउनुभयो । ढल्कँदो उमेरमा पनि आफूहरु सम्मानित हुन पाउँदा ज्येष्ठ नागरिक खुशी भएका छन् । जनप्रतिनिधिले स्थानीय तहमा नेतृत्व गर्ने अवसर पाएपछि नगरपालिका तथा गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई जोड दिएको पाइन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !