१४ बैशाख २०८१, शुक्रबार

विद्यालय भवन निर्माणका लागि सहयोग


स्कुल

७ फागुन, दमौली । लायन्स क्लब इन्टरनेशनलले तनहुँको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माणका लागि रु दुई करोड ५० लाख सहयोग गरेको छ ।

नेपालको स्वास्थ्य, शिक्षा र अपाङ्गताको क्षेत्रमा सहयोग गर्दै आएको लायन्सले विसं २०७२ को भूकम्पले क्षति पुगेको भवन निर्माणका लागि तनहुँ लायन्सको सिफारिसमा उक्त सहयोग गरेको हो ।

नयाँ बन्न लागेको विद्यालय भवनको लायन्स क्लब अफ नेपाल ३२५ बी १ का डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले सोमबार शिलान्यास गर्नुभयो । सो अवसरमा गभर्नर श्रेष्ठले सामाजिक क्षेत्रमा लायन्स क्लबले आवश्यकताअनुसार नै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘जहाँ आवश्यकता छ, त्यहाँ लायन्स क्लब छ’ भन्ने भावनाले लायन्सले काम गर्दै आएको बताउँदै उहाँले जिल्लाका अन्य ठाउँका विद्यालयलाई समेत क्लबले सहयोग गर्ने बताउनुभयो ।

विसं २०७६ कात्तिकसम्म निर्माण सम्पन्न हुने भवन दुई तलाको हुनेछ भने भवनमा ८ कोठा रहनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित भण्डारीले हाल रहेको भवन जीर्ण रहेकाले नयाँ भवन निर्माणपछि पठनपाठनमा सहयोग पुग्ने बताउनुभयो । विद्यालयको भवन निर्माणका लागि लायन्ससँग अनुरोध गरेपछि सहजै सहयोग उपलब्ध गराएकामा उहाँले क्लबप्रति आभार व्यक्त गर्नुभयो ।

लायन्स क्लबले अपाङ्गता भएकालाई ह्विलचियर, दृष्टिविहीनलाई सेतो छडी र बहिरालाई श्रवणयन्त्र वितरणसमेत गरिरहेको छ । लायन्स क्लबकै सक्रियतामा नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशालाका लागि रु एक करोड आर्थिक सहयोग प्राप्त हुने क्रममा रहेको छ भने यसअघि दमौली अस्पताललाई रु १६ लाख बराबरको उपकरण हस्तान्तरण भइसकेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !