९ जेष्ठ २०८१, बुधबार

निजी शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह


स्कुल

५ मङ्सिर, बैतडी । जिल्लाका स्थानीय तहले सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका लागि पहल गर्न थालेका छन् । निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेर सामुदायिक विद्यालयका समस्या समाधानमा स्थानीय तह जुटेका छन् ।

सुर्नया गाउँपालिका, पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेका हुन् । सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई सुर्नया शिक्षकको नाम दिएर व्यवस्थापन गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो । “गुणस्तरीय शिक्षामा सबैको पहुँच पु¥याउन यो अवधारणा ल्याएका हौँ,” उहाँले भन्नुभयो, “शिक्षा ऐन र कार्यविधि पारित गरेर सामुदायिक विद्यालयका निजी शिक्षकको व्यवस्थापन गरेका हौँ ।”

सुर्नया गाउँपालिकाका ३९ सामुदायिक विद्यालयमा कार्यरत ८० भन्दा बढी शिक्षक र कार्यालय सहयोगी नियुक्त गरिएको छ । कक्षा १२ सम्म पढाउने शिक्षकलाई रु २५ हजार, कक्षा १० सम्म पढाउने शिक्षकलाई रु २० हजार, कक्षा ८ सम्म पढाउने शिक्षकलाई रु १५ हजार तथा कक्षा ५ सम्म पढाउने शिक्षकलाई मासिक रु १० हजार उपलब्ध गराएको छ । कार्यालय सहयोगीलाई रु आठ हजारका दरले तलब दिने गरिएकोछ । सो गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि चालु आर्थिक वर्ष २०७५÷७६ मा रु ७० लाख बजेट विनियोजन गरेको छ ।

यस्तै पाटन नगरपालिकाले नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि नगर स्वयंसेवक शिक्षकको अवधारणासहित रु एक करोड बजेट विनियोजन गरेको उपप्रमुख सरस्वती कोलीले बताउनुभयो । कार्यविधि बनाएर नगरपालिकाभरि सामुदायिक विद्यालयको समस्या समाधानका लागि पहल गरिने पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताउनुभयो ।

दशरथचन्द नगरपालिकामा शून्य दरबन्दी भएका सामुदायिक विद्यालयमा शिक्षकको व्यवस्था गरिएको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । शून्य दरबन्दी भएका विद्यालयमा शिक्षकको व्यवस्थापन तथा खेलकूद प्रशिक्षकका लागि चालु आर्थिक वर्षमा रु ५५ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । मेलौली नगरपालिकाले निजी शिक्षकको तलबभत्ता दिने भएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका सबै शिक्षकलाई नगरपालिकाले तलबभत्ता दिन रु एक करोड विनियोजन गरेको छ । नगरपालिकाका ४५ सामुदायिक विद्यालयका ८५ शिक्षकका लागि उक्त रकम विनियोजन गरिएको हो । कक्षा ५ सम्मका शिक्षकका लागि मासिक रु १० हजार, कक्षा ८ सम्मका शिक्षकका लागि रु ११ हजार, कक्षा १० सम्मका शिक्षकका लागि रु १४ हजार तथा कक्षा १२ सम्मका शिक्षकका लागि मासिक रु १५ हजार तलबको व्यवस्था गरिएको छ ।

निजी स्रोतका शिक्षकलाई तलब दिन विद्यालयसँग आर्थिक स्रोत नभएकाले नगरपालिकाले तलबको व्यवस्था गरेको हो । नगरपालिकाले निजी स्रोतका शिक्षकलाई तलब दिने व्यवस्था गरेपछि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने सुर्नयाको केदार मावि कठमडाका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयसँग आर्थिक स्रोत नहुँदा निजी स्रोतका शिक्षक आउनेजाने चलन रहेकामा अब त्यसो हुँदैन ।” निजी स्रोतका शिक्षकलाई तलब दिन अभिभावकले चन्दा उठाउनुपर्ने बाध्यता थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !