२१ बैशाख २०८१, शुक्रबार

२०८० सालको एसईई आजदेखि सुरु, ५ लाख बढी परीक्षार्थी सहभागी


एसइई परीक्षा फाइल फोटो

काठमाडौं । वर्ष २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा अहिले बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने भएको हो ।

यो वर्ष एसईईमा ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी हुँदै छन् । एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

देशभरका २ हजार ६४ परीक्षा केन्द्रबाट एकसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र छन् ।

त्यस्तै नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले एसईई दिँदै छन् । जापानमा रहेको एभरेस्ट स्कुल परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिन लागेका हुन् ।

परीक्षाका लागि आवश्यक पर्ने प्रश्न पत्र र उत्तर पुस्तिकालगायतका सामग्री यसअघि नै सम्बन्धित जिल्ला पुर्‍याइएको थियो । प्रश्न पत्र ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइएको थियो ।

प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाएको छ । परीक्षा सञ्चालनका लागि देशभरबाट ७७ हजार बढी जनशक्ति खटिएका छन् । ७७ हजार ४८५ जना जनशक्ति परिचालन गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न–गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गरेका छन् ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न केन्द्राध्यक्ष लगायत जनशक्तिलाई तालिम दिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !