२१ बैशाख २०८१, शुक्रबार

प्रा. डा. केशरजंग बराल त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त


प्रा. डा. केशरजंग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

उपकुलपति सिफारिस समितिले सिफारिस गरेका तीन जना डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. बराल र प्रा.डा. टंकनाथ धमला मध्येबाट प्रधानमन्त्री प्रचण्डले बराललाई आज उपकुलपति नियुक्त गरेका हुन् ।

त्रिविमा पहिलोपटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति चयन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारिस समितिले फागुन ६ गते तीन जनाको नाम सिफारिस गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गरेक थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष बरालसहित बुढाथोकी र धमलालाई सिफारिस गरेको थियो ।

उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उहाँको ‘करिअर’का विषयमा जानकारी समेत लिएक थिए । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

त्रिविका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री प्रचण्डले शिक्षामन्त्री राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे रहेकोे समिति गठन गरेका थिए । निमित्त उपकुलपतिको जिम्मेवारीमा त्रिविका शिक्षाध्यक्ष डा. शिवलाल भुसाल थिए ।

डा. बरालले दिल्ली विश्वविद्यालयबाट क्यापिटल ‘स्ट्रक्चर एन्ड कस्ट अफ क्यापिटल’मा पीएचडी गरेका छन् । बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !