२१ बैशाख २०८१, शुक्रबार

एसईईको परीक्षाफल साउन २५ गते सोमबारसम्म सार्वजनिक हुने


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । २०७७ सालको एसईईको परीक्षाफल साउन २५ गते सोमबारसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ साउनमा नतिजा प्रकाशित गरिसक्ने जानकारी दिए ।

बोर्डले आजै नतिजा प्रकाशित गर्ने कार्यक्रम रहे पनि विगतमा जस्तै केही विद्यालयले अस्वाभाविक नतिजा प्रदान गरेको पाइएपछि परीक्षा नतिजा रोकिएको बुझिएको छ ।

बिहीबार बोर्ड र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीसहितको भर्चुअल बैठक बसेको र त्यसमा केही विद्यालयको नतिजा अस्वाभाविक पाएपछि नतिजा प्रकाशन ढिलो भएको बोर्डका एक अधिकारीले बताए ।

यसका लागि बोर्डले जिल्ला समन्वय एकाइलाई आजै पत्र पठाउँदैछ । अस्वाभाविक नतिजाबारे एकाइले स्कूल सञ्चालकलाई बोलाएर सोध्ने, एकाइले बोर्डमा जनाउ दिने र त्यसपछि पुनः सच्याउने तयारी रहेको एक अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि गत जेठ १३ गतेदेखि गर्ने भनिएको एसईईको परीक्षा स्थगित भएको थियो । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो ।

कार्यविधिले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुति लगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मकको लागि २५ प्रतिशत मूल्यांकन तोकेको छ ।

प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । बोर्डको यो वर्षको परीक्षाका लागि तयार गरेको कार्यविधिमा ८० भन्दा बढी अंक दिनुपरेमा सो को कैफियतमा खुलाउनुपर्ने नयाँ व्यवस्था छ ।

उक्त नियमको उल्लंघन गरी कारण नखुलाई ८० भन्दा बढी अंक दिएको खुलेको हो । तर परीक्षा नियन्त्रक अधिकारी भने त्यस्तो कारण नभई प्राविधिक समस्याका कारणले नतिजा प्रकाशन गर्न समय लागेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !