२१ बैशाख २०८१, शुक्रबार

आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र हुने


केन्द्रीय तथ्यांक विभाग

१७ वैशाख, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले देशको यो आर्थिक वर्ष २.२७ प्रतिशतमात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन सार्वजनिक गर्दै विभागले यस्तो प्रक्षेपण गरेको हो ।

यससँगै नेपाली अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँ पुग्ने विभागको अनुमान छ । चालु आवको साउनदेखि चैत महिनासम्मको तथ्यांकका आधारमा विभागले आर्थिक वृद्धिदर प्रक्षेपण गरेको हो ।

चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण १० खर्ब ६० अर्ब रुपैयाँ रहेको छ । प्रतिव्यक्ति आय १ लाख २६ हजार १८ रुपैयाँ अर्थात् १ हजार ८५ अमेरिकी डलर छ । यो औसत नेपालीको एक वर्षको आय हो ।

यो वर्ष सरकारले ८.५ प्रतिशतल आर्थिक वृद्धिदर हुने लक्ष्य राखेको थियो । तर कोरोना महामारीका कारण यो लक्ष्य हासिल नहुने विश्लेषण सरकारले गरिसकेको छ ।

कोरोना महामारीको प्रभाव कहिलेसम्म हुने भन्ने यकिन गर्न नसकिएको अवस्थामा यो अनुमान तयार पारिएको प्रतिवेदनमा जनाइएको छ । अन्तर्राष्ट्रिय दातृ निकायले यो गरेको अनुमान अनुसार नै विभागको प्रक्षेपण सार्वजनिक भएको हो । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ को हाराहारीमा हुने अनुमान सार्वजनिक गरेको थियो ।

औद्योगिक वर्गीकरण अनुसार चालु वर्षमा होटल तथा रेष्टुरेन्टको विस्तार संकुचन भइ ऋणात्मक वृद्धिदर देखिन्छ । यसका अतिरिक्त यातायात, उद्योग, खानी तथा खनिज क्षेत्रको विस्तारमा समेत संकुचन आउने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !