२१ बैशाख २०८१, शुक्रबार

लकडाउनमा इन्धनको जोहोका लागि ‘गुइँठा’ बनाइँदै


महोत्तरी, १६ वैशाख । कोभिड–१९ सन्त्रास छल्न जारी लकडाउनभित्र महोत्तरीका आम ग्रामीण गृहिणी इन्धनको जोहोमा लागेका छन् । बाहिर निस्कन अनुकूल नभएपछि यहाँका गृहिणीको खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ (गोबर पथारेर दाउरा प्रयोजनका लागि बनाइने इन्धन, ‘चिपरी’ र ‘गोरहा’ पनि भनिन्छ) बनाउने व्यस्तता बढेको हो ।

प्रायःजसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदा छन् । जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा अहिलेको लकडाउनमा गृहिणीको ‘गुइँठा’ बनाउने काममा व्यस्तता बढेको हो ।

“के गर्नु पकाएर खानु परिहाल्छ”, धमाधम गोबरको चिपरी पथार्न व्यस्त देखिनुभएकी बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी गृहिणी शैलदेवी महतोले भन्नुभयो, “अहिले काममा बाहिर निस्कने समय छैन, त्यसैले घरमै बर्खाभरिलाई चाहिने ‘चिपरी’ पथार्दै छु ।”

जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी र गुइँठा (गोरहा) मा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आम विश्वास छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा पनि गोबरका ‘चिपरी’ र ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थकर पनि हुने बताउनुहुन्छ ।

यहाँका महिला अहिले धेरैजसो कृषि कार्य लकडाउनले गर्न अनुकूल नहुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ पथार्ने (गोबरको ‘गुइँठा’ र ‘चिपरी’ बनाउने कामलाई ‘पाथ्ने’ वा ‘पथार्ने’ भनिन्छ) गरेको बताउँछन् । घरमा पशुवस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी (थुप्रो) लगाउने र नहुनेले सडक र चरणक्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घरवरपर ल्याएर थुपार्ने महोत्तरीमात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ । यसरी दुई÷तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई/तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ । सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई ‘चिपरी’ र भित्रपट्टि पराल र मसिना झिक्रा हालेर लामो डोलो बनाइनेलाई ‘गुइँठा’ वा ‘गोरहा’ भनिन्छ । यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ । यस्तो चाङ एक महिनाजति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ ।

खासगरी वनक्षेत्र टाढा भएका र घरको आर्थिक अवस्थाले ग्यास किन्ने र प्रयोग गर्ने आर्थिक हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाइन्छ । मध्यपूर्वी तराईक्षेत्रमा घरपालुवा पशुवस्तु (गाई, गोरु, भैँसी र राँगा) को गोबर इन्धनमा खर्च हुने भएपछि जग्गा जमीनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् । “खेतबारीमा हाल्नुपर्ने प्राङ्गारिक मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ”, महोत्तरीकै भङ्गाहा नगरपालिका–६ हतिसर्वाका ७० वर्षीय किसान सीताराम सरदार भन्नुहुन्छ, “खेतबारी मलिलो बनाउने प्राङ्गारिक मल नभएपछि उत्पादन निकै घटेको छ ।”

अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वराशक्ति ह्रास भएर यहाँका जग्गा ढड्यान (उब्जा नहुने रुखो जग्गा) बन्ने किसान बताउँछन् । सरकारले सर्वसाधारण किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वनसम्पदा (दाउरा) मा पहुँच बढाउन पहलकदमी लिनुपर्ने किसानको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु