२४ बैशाख २०८१, सोमबार

बजारमा सर्जिकल माक्सको अभाव


सर्जिकल माक्स

सुर्खेत, २३ फागुन । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल माक्सको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महङ्गो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो ।

नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करिब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल माक्स मौज्दात नरहेको जानकारी दिनुभयो । “डिलरमै माक्स छैन्, हामीसँग भएको पनि सकियो,” उहाँले भन्नुभयो, “एक महिनादेखि माक्स ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन ।”

वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घअन्तर्गत फेन्सी रेडिमेट तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाको माक्सहरु पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिनुभयो । कपडाको मास्क किन्ने ग्राहकको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

यसैबीच, काठमाडौँबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००.५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट कोरिया हुँदै ती युवा नेपाल आइपुगेको बताइएको छ । उहाँलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ती युवालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था नरहेको छैन । ” प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको सो भाइरस सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !