४ जेष्ठ २०८१, शुक्रबार

आजदेखि तेस्रो लगानी सम्मेलन, विदेशी लगानी भित्र्याउने लक्ष्य


लगानी सम्मेलन

काठमाडौं । तेस्रो लगानी सम्मेलनमा आजदेखि सुरु हुँदै छ । विदेशी लगानी भित्र्याउने लक्ष्यसहित आजदेखि तेस्रो लगानी सम्मेलन सुरु हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति ९ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै छन् । लगानी बोर्डले दुई दिनसम्म चल्ने तेस्रो लगानी सम्मेलनमा विश्वभरका १६०० भन्दा बढी लगानीकर्ता सहभागी हुने बताएको छ ।

सम्मेलनमा विश्वका ५५ भन्दा धेरै देशबाट १६०० लगानीकर्ता सहभागी हुने लगानी बोर्डको कार्यालयले जानकारी दिएको हो । बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको निम्तो दिएमध्ये १६०० जना सहभागी हुने भएका हुन् ।

लगानी सम्मेलनमा नेपालका सबैभन्दा धेरै लगानीकर्ता सहभागी हुने बताइएको छ । नेपालबाट ३८५ जना लगानीकर्ता सहभागी हुने बोर्डको कार्यालयले जनाएको छ । यस्तै चीनबाट २६५ जना र भारतबाट १४३ जना सहभागी हुने बताइएको छ ।

हिजोसम्म बोर्डले तयार पारेको सूचीअनुसार सम्मेलनमा अमेरिकाबाट ३३ जना लगानीकर्ता आउँदै छन् । जापानबाट २८ जना सहभागी हुनेछन् भने बेलायतबाट १४ जना र बंगलादेशबाट १३ र संयुक्त अरब इमिरेट्सबाट समेत १३ जना आउनेछन् । यसबाहेक जर्मनीबाट १० जना आउने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !