१८ बैशाख २०८१, मंगलबार

नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त


सुरेश देवकोटा

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्युरिटिजको सञ्चालक समितिले देवकोटालाई असोज २१ देखि लागू हुनेगरी चार वर्षका लागि सिइओ नियुक्त गरेको हो ।

दुई दशक लामो बैंकिङ अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंकमा प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत थिए । २०६२ सालमा नेपाल बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश बैंकमा बिताएका थिए । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।

देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्वसदस्यसमेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्सलगायतका संस्थामा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दख्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्युरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ ।

देशकै अग्रणी नबिल बैंकले पुँजी बजारको विकास तथा व्यावसायिकतामा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरेको नबिल सेक्युरिटिज लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर) को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो ।

चुक्ता पुँजी १ अर्ब ५२ करोड रहेको संस्थाले स्टक डिलर, मार्जिन कर्जा सेवा, पूणर्कालीन धितो पत्र दलाल सेवा, लगानी व्यवस्थापन, प्रत्याभूति सेवा, लगानी परामर्श सेवालगायतका सेवा प्रदान गर्ने गरेको छ । नबिल सेक्युरिटिजले नेपाल स्टक एक्सचेन्जबाट धितोपत्र दलाल सेवा (धितोपत्र ब्रोकर नम्बर) ७७ को अनुमति प्राप्त गरी सेवा सञ्चालन गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !