२० बैशाख २०८१, बिहिबार

व्यवसायी भन्छन्– ‘सरकारले पर्यटनलाई महत्व दिएको छ’


विनायक शाह

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष महत्व दिएर प्रवर्द्धनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । कोरोना महामारीपछि पुरानै लयमा फर्किएको पर्यटनलाई थप चलायमान बनाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसहित सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाएर र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाइने भनिएको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट पर्यटन व्यवसायी पनि निकै उत्साहित देखिएका छन् । विशेष गरी भ्रमण दशक मनाउने तथा विशेष पर्यटन वर्षजस्ता कार्यक्रमले नेपालको पर्यटन अन्तर्राष्ट्रिय पर्यटकको प्रतिक्षामा रहेको र बढी सङ्ख्यामा पर्यटक आकर्षण गर्न घोषित कार्यक्रमले टेवा पुग्ने व्यवसायीको बुझाइ छ ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले समग्रमा सरकारको नीति तथा कार्यक्रममा पर्यटनलाई विशेष महत्वका साथ रणनीतिक कार्यक्रम समावेश गरिएको र यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । “नीति तथा कार्यक्रममा संवत् ८० को दशकलाई पर्यटन दशक मनाउने कुरा आएको छ, जुनकुरा हामीले बारम्बार उठाउँदै आएको विषय थियो । यसले ठूलो प्रवद्र्धनात्मक गतिविधि बढाउँछ”, उनले भने ।

अध्यक्ष शाहले भ्रमण दशकले नेपाल अन्तर्राष्ट्रिय पर्यटकका लागि तयार छ भन्ने सन्देश जाने र यसका लागि तीनै तहको सरकार र निजी क्षेत्रको साझेदारिता बढाएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रको नीतिगत सुधार, नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनका साथै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउनेजस्ता कार्यक्रमले पर्यटन क्षेत्रलाई आशातित बनाएको अध्यक्ष शाहको भनाइ छ । उनले भने, “नीतिगत सुधार गरेर सम्बोधन गर्ने कुरा आएको छ, पर्यटन उद्योगले अन्य उद्योगसरह मान्यता पाएको छैन, त्यसको सुनुवाई भएको छ ।”

यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको सुभारम्भ गरे पनि महामारीका कारण उक्त कार्यक्रम स्थगित भएको थियो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले समग्रमा नीति तथा कार्यक्रम पर्यटन व्यवसायमैत्री रहेको बताए । उनले समेटिएका विषयको व्यावहारिक कार्यान्वयनका लागि सबैको सक्रियता चाहिने खाँचो औँल्याए ।

नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले समग्रमा सरकारले ल्याएको नीति तथा कार्यक्रम पर्यटनमैत्री रहेको र यसले पर्यटन क्षेत्रमा सकारात्मक उत्साह पैदा गरेको उल्लेख गरे । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पनि पर्वतारोहणलगायत क्षेत्रलाई प्राथमिकता दिएको नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकता दिएको सन्देश जाने बताए ।

कोरोना महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन विस्तारै लयमा फर्किरहेको छ । सन् २०२३ को हरेक महिना झण्डै एक लाख विदेशी पर्यटक आइरहेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को चार महिनाको अवधिमा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

कोरोना महामारी पूर्व सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा दुई लाख २० हजार छ सय ८२ , सन् २०२१ मा ५५ हजार चार सय ४७ र सन् २०२२ मा एक लाख ४० हजार तीन सय ३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सरकारले नीति तथा कार्यक्रमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि ढाउने, हवाई सुरक्षालाई सुदृढ बनाइ नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने, नेपाल वायुसेवा निगमको पुनःसंरचना गर्ने, नयाँ हिमाल आरोहणका लागि खोल्ने तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा ल्याउने उल्लेख गरेको छ ।

पर्यटन ऐनमा समयानुकूल परिमार्जन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सूचीकृत पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचार गरी अत्यावश्यक पूर्वाधारहरूको विकास, सुरक्षा प्रबन्ध र नयाँ पर्यटकीय गन्तव्यहरूको विस्तारमा जोड दिइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !