१४ बैशाख २०८१, शुक्रबार

भारतले लगायो चिनी निर्यातमा रोक


चिनी निर्यात

काठमाडौँ । भारतले चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले आगामी जुन जुन १ (जेठ १८ गते) देखि अक्टोबर ३१ तारिखसम्म चिनीको निर्यातमा रोक लगाएको हो ।

भारतीय संचारमाध्यम इकोनोमिक्स टाइम्सका अनुसार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले ४ महिनासम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

भारतले घरेलु मूल्यवृद्धि कम गर्नका लागि यस्तो नीति अपनाएको बताइएको छ । भारत सरकारले सबै व्यापारीहरुलाई चिनीको विदेशी कारोबार सम्बन्धी अनुमति सुनिश्चित गराउन निर्देशन दिइसकेको छ ।

घरेलु बजारमा चिनीको उपलब्धता बढाउन र मूल्यलाई नियन्त्रित गराउन यस्तो कदम उठाउन लागिएको इकोनोमिक टाइम्सले जनाएको छ । यसमा पूर्ण प्रतिबन्ध नभएर चिनीको निर्यात् सीमित गराउने जनाइएको छ । घरेलु उपलब्धता र स्थिर मूल्यलाई कायम राख्नुपर्ने बताइएको छ ।

रुस र युक्रेनको जारी युद्धपछि विश्वभर विभिन्न मुलुकहरुले खाद्यान्न निर्यातमा कडाइ गरिरहेका छन् । रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि सोको असरबाट विभिन्न देशले आफ्नो देशलाई बचाउन खाद्यान्न संग्रह गर्ने निर्णय जारी राखेका छन् ।

यी बन्देजहरु अमेरिका र युरोपेली युनियनमा हुने चिनी निर्यातमा चाहिँ लागू नहुने बताइएको छ । भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक भएकोले यसको असर विश्वव्यापी रुपमा पर्ने आंकलन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !