१९ बैशाख २०८१, बुधबार

सप्तकाेशी डेभलपमेन्ट बैंकका सीईओ नवीन सुवेदी पक्राउ


नवीन सुवेदी

काठमाडौं । सप्तकाेशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदी पक्राउ परेका छन् । बैंककाे १६ कराेड रुपैयाँ हिनामिना गरेकाे आरोपमा बैंकका सीईओ सुवेदी पक्राउ परेका हुन् ।

करिब १६ करोड रकम घोटला गरेको आरोपमा सीईओ सुवेदीसहित चार जना पक्राउ परेका छन् । बैंकको रेमिटेन्सको १५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सीईओ सुवेदीलाई आज बुधबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको हो ।

उनीसहित प्रहरीले अमित थापामगर, देवीप्रसाद भण्डारी र हिमाल भट्टराईलाई पनि पक्राउ गरेकाे छ । बैंककाे १५ कराेड ७५ लाख ४० हजार ५७५ रूपैयाँ हिनामिना गरेको मुद्दामा सुवेदीसहित चार जनालाई पक्राउ गरिएकाे हो ।

बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमालका आफन्तले बैंकका सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् । हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले केही दिनअघि पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी फसाएको प्रशस्त प्रमाण फेला परेको जानकारी दिएका थिए ।

बैंकमा करिब रु १६ करोड हिनामिना भएको र सो रकम सुवेदीकी ठूलो बुवाकी छोरी झापाको गौरादहकी बबिता सुवेदीको खाताबाट करिब रु १४ करोडभन्दा बढी रकमको कारोबार देखिएकाले सुनियोजित तरिकाले भट्टराई फँसेको बताइएको थियो । रकमको कारोबार हुने शाखामा नरहेका भट्टराईलाई प्रमुख कार्यकारी सुवेदीले नै पटकपटक रकम झिक्न लगाई सो रकम लिने गरेको हिरासतमा रहेका हिमालले आफ्ना बुबालाई भनेका थिए ।

धनकुटामा केन्द्रीय कार्यलय रहेकाे सप्तकाेशी डेभलपमेन्ट बैककाे कर्पाेरेट कार्यालय विराटनगरमा छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकका १ नम्बर प्रदेशभर ३६ शाखा कार्यालय छन् । ​बैंककाे कर्पाेरेट कार्यालयमा रहेकाे रेमिट्यान्स शाखाबाट उक्त रकम हिनामाना भएको खुलेपछि प्रहरीले अनुसन्धान गरेकाे थियाे ।

यो पनि पढ्नुहोस्

आर्थिक हिनामिना गरेका बैंकका सिइओलाई पक्राउ गर्न माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !