२१ बैशाख २०८१, शुक्रबार

रसुवाका स्थानीय तहका नीति तथा कार्यक्रम – पर्यटन, शिक्षा र स्वास्थ्यमा जोड


बजेट

रसुवा । जिल्लामा आमागी आर्थिक वर्षमा स्थानीय तहहरूले गाउँ क्षेत्रमा सञ्चालन गर्ने विकास निर्माणको नीति तथा कार्यक्रम पारित गर्ने काम सकिएको छ । रसुवाका पाँच वटै गाउँपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवा तथा विकासका कार्य स्वच्छ , पारदर्शी एवं सेवाग्राही मैत्री बनाउदै समुन्नत रसुवा निर्माणमा अगाडि बढ्ने लक्ष्यसाथ जिल्ला भर एकैदिन गाउँ सभा बैठक मार्फत नीति तथा कार्यक्रम पारित भएको हो ।

आगामी वर्षमा जिल्ला भित्र सञ्चालन गरिने नीति तथा कार्यक्रम असार १० गते भित्र पारित गरिसक्नु पर्ने कानूनी प्रावधान अनुरूप गाउँ सभा सम्पन्न भएको छ । पाँचवटै गाउँपालिकाले कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिदै आ —आफ्ना क्षेत्रको आवश्यकता परिपुर्ति गर्ने र दिर्घकालिन कार्यक्रम सञ्चालन गराउने नीति लिएका छन् ।

बढ्दो कोरोना रोग नियन्त्रण गराउने कार्यमा जनचेतना जगाउने र उपचार व्यवस्थापनलाई प्रभाकारी तुल्याउने सवै गाउँपालिकाले प्रण गरेका छन् । स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, रोजगार र पर्यटन प्रर्वद्वन जस्ता कार्यलाई गाउँपालिकाहरूले पहिलो प्राथमिकतामा राखेको जिल्ला समन्वय समितिले जनाएको छ ।

आ आफ्ना गाउँपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक , सम्पदालाई संरक्षण गरी पर्यटन प्रर्वद्वन गराउने नीति कार्यक्रममा उल्लेख भएको छ । गाउँ सभाको नीतिले नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानीएको लाङ्टाङ , पवित्र तीर्थ गोसाइँकुण्ड , उत्तरगयाधाम बेत्रावती एवं तामाङ् सम्पदा मार्ग, घलेगढी ऐतिहासिक धरोहर मानिएका क्षेत्रको पूर्वाधार विकासमा सुधार आई पर्यटन प्रर्वद्वनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

आगामी आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन गरिने चालू एवं पुँजिगत खर्चका लागि पाँच वटा गाउँपालिकाले कुल एक अर्ब ६६ करोड बराबरको बजेट विनियोजन गरेका छन् । गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा ३१ करोड, कालिका गापामा ३३ करोड , नौकुण्ड गापामा ३६ करोड, आमाछोदिङ्मोमा ३२ करोड र उत्तरगयामा ३४ करोड वजेट विनियोजन भएको सम्बन्धित गाउँपालिकाले जनाएका छन्।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार आफ्नो आधार इलाका क्षेत्रमा रहेका विद्यालयहरूबाट भविष्यका कर्णाधार बालबालिकाहरूलाई विद्यालय तहदेखिनै जीवन उपयोगी, व्यावसायिक र प्राविधिक शिक्षालाई जोड दिने नीति समेत तय गरिएको छ । यस्तै, शिक्षाको गुणस्तर सुधारका लागि विकट मानीएको उत्तरगया गाउँपालिका अन्तरगत वडा नं १ तिरू तथा करूम्राङ क्षेत्रका विद्यालयहरूमा अध्यापन गराउने शिक्षकलाई प्रोत्साहन स्वरूप गाउँसभाले दुर्गम भत्ता दिने नीति तय गरेको उपाध्यक्ष चमेली गुरूङले बताउनुभयो ।

नौकुण्ड गाउँपालिकाले भने वैदेशिक रोजगारबाट घर फर्केका र कामको खोजीमा जिल्ला बाहिर गएका नागरिकलाई फर्काइ स्थानीय स्तरमै रोजगारीको अवसर दिलाउने नीति लिएको उपाध्यक्ष सृजना लामाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !