२१ बैशाख २०८१, शुक्रबार

भीमदत्तको बजेट एक अर्ब ५९ करोडः स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा


बजेट

कञ्चनपुर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु एक अर्ब ५९ करोडको बजेट नगरसभामा प्रस्ताव गरेको छ । ‘सन्तुलित वातावरण, सुशासनसहितको समाजवादउन्मुख नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’ भन्ने नारासहित आज शुरु भएको नवौँ नगरसभामा नगर उपप्रमुख सुशीला चन्दले आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेश गर्नुभयो ।

बजेटमा रु एक अर्ब ११ करोड चालु र रु ४१ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ । यो बजेट चालु आवभन्दा बढी हो । चालु आवमा रु एक अर्ब ३७ करोड बजेट विनियोजन गरिएको थियो ।

भीमदत्तले यस वर्ष २५ वर्षे गुरु योजनाका आधारमा नीति, कार्यक्रम र बजेट ल्याएको हो । नगरपालिकाले गत वर्ष रणनीतिक गुरु योजना बनाएको थियो । बजेटमा कोेरोना महामारी नियन्त्रण, रोकथाम सहित शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले कोभिड –१९ महामारी नियन्त्रण रोकथामसहित स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याइएको बताउनु भयो ।

भीमदत्तलाई स्मार्ट सिटीका रुपमा विकास गर्न संघीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारले चालु वर्षमा भीमदत्तलाई स्मार्ट सिटी निर्माणका लागि छनोट गरी बजेट सुनिश्चितता गरेको छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले नगरको आन्तरिक स्रोतसाधनलाई ध्यानमा राखी आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याइएको बताउनु भयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु