२० बैशाख २०८१, बिहिबार

निर्वाचन गर्नका लागि आयोगले सरकारसँग माग्यो ७ अर्ब


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रकम माग गरेको छ । आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थ मन्त्रालयलाई पत्रचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

कोभिड-१९ महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा विगतको निर्वाचनमा भएका खर्चभन्दा मितव्ययी हुनेगरी अपनाउनुपर्ने स्वास्थ्य सतर्कता समेतलाई ध्यान दिइ निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको आयोगले विज्ञप्ति मार्फत जानकारी दिएको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मङ्गलबार भएको छलफलसमेतका आधारमा निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी आवश्यक न्यूनतम कार्यका लागि मात्र बजेट माग गरिएको बताइएको छ ।

विगतका निर्वाचनमा प्रयोग भई हाल मौज्दात रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधन मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको तथा नयाँ सामग्री, उपकरण र सवारी साधन खरीद गर्ने गरी बजेटमा समावेश नगरिएको जानकारी दिएको छ।

कोभिड–१९ सगँ सम्बन्धित सुरक्षा सतर्कताका लागि आवश्यकपर्ने न्यूनत्तम सुरक्षा व्यवस्थाका लागि रु ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

निर्वाचनको काममा आयोग, ७७ जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम सङ्ख्यामा रहने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनसँग सम्बन्धित तालीम, अनलाइनका माध्यमबाट समेत गर्नेगरी व्यवस्थापन गरिएकाले आसन्न निर्वाचन थप मितव्ययी हुने आयोगको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !