१८ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यका आसपासमा नयाँ शहर निर्माण गरिने


उपत्यका आसपासमा नयाँ शहर निर्माण गरिने

काठमाडौँ, १६ वैशाख । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापन र आसपासका क्षेत्रमा नयाँ शहर निर्माणका लागि बजेट तर्जुमा गरिने बताउनुभएको छ ।

मन्त्रालयमा आज सांसदसँगको छलफलमा राज्यमन्त्री मानन्धरले प्रस्तावित टोखा छहरे सुरुङमार्ग, निर्माणाधीन नौबिसे सुरुङमार्ग आदि आयोजनाका साथै वैकल्पिक चक्रपथसहितको नयाँ शहर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

उपत्यकालाई बाहिरी जिल्लाबाट छुने करिब ६५ किलोमिटरको वैकल्पिक चक्रपथअन्तरगत नुवाकोटका छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छी, नौबिसे, गल्छीदेखि नुवाकोटको चाउथे, बन्चरेडाँडा र काठमाडौँको तिनपिप्लेलाई नयाँ शहर निर्माण गर्न लागिएको हो ।

राज्यमन्त्री मानन्धरले नयाँ बजेटमा सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकतामा राखिने र कम्तीमा एक लाख परिवारलाई फुस तथा खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनि बसाल्ने योजना रहेको जानकारी पनि दिनुभयो ।

मन्त्रालयका सचिव मधुसूदन अधिकारीले केही नयाँ कार्यक्रमसहित बजेटको तयारी थालिएको जानकारी दिनुभयो । सचिव अधिकारीले मन्त्रालयले चालु अवस्थामा रहेका कार्यक्रमको निरन्तरतासँगै वैकल्पिक चक्रपथसहितको नयाँ शहर आयोजना र कम्तीमा एक लाख परिवारका लागि जस्ताको छानो उपलब्ध गराउनेगरी बजेट आउने जानकारी दिनुभयो ।

दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले यसअघि सांसदहरुलाई छलफलमा नबोलाउँदा बजेट व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै छलफल आयोजना गरिएकामा खुशी व्यक्त गर्नुभयो ।

काठमाडौँका सांसद जीवनराम श्रेष्ठले काठमाडौंका केही स्थान दुर्गमसरह रहेकाले प्राथमिकताका साथ कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । छलफलमा बैतडीका सांसद दामोदर भण्डारी, सिन्धुलीका सांसद गणेश पहाडी, नुवाकोटका सांसद नारायण खतिवडा, बाजुराका सांसद लालबहादुर थापा, डोटीका सांसद प्रेम आले, कैलालीका नारदमुनि राना, नुवाकोटका सांसद बहादुरसिंह लामा लगायतको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !