१४ बैशाख २०८१, शुक्रबार

दृष्टिविहीन छात्राबास निर्माण हुँदै


Nepalpatra

७ फागुन, लमही । दाङको राप्ती गाउँपालिका–२ लालमटियामा आदर्श नमूना माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको छात्राबास जीर्ण बनेपछि पूर्वविद्यार्थीको सक्रियतामा नयाँ भवन निर्माण शुरु भएको छ ।

वर्षात्को समयमा पानी चुहिने र भित्ता चर्किएको अवस्थामा दृष्टिविहीन विद्यार्थीलाई राखिएको भन्दै फरक क्षमता भएका उनीहरुलाई पूर्वविद्यार्थीको सक्रियतामा नयाँ भवन निर्माण गर्न लागिएको पूर्वविद्यार्थी वासुदेव न्यौपानेले बताउनुभयो । “दृष्टिविहीनको छात्राबास एकदमै जीर्ण छ, भित्ता चर्किएका छन्, वर्षात्मा पानी पर्दा चुहिने अवस्था छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा उनीहरु बस्न बाध्य भएपछि हामी पूर्वविद्यार्थीको पहलमा नयाँ भवन निर्माण शुरु गरेका हौँ ।”

उहाँका अनुसार भवन निर्माणको पहिलो चरणको काम पूरा भएको छ । रु ११ लाख ४५ हजार लगानीमा भवनको पिलर निर्माणको काम पूरा भएको उहाँले बताउनुभयो । अब थप आर्थिक सङ्कलन भएमा दोस्रो चरणमा ढलान गर्ने काम शुरु हुने उहाँको भनाइ छ । “अहिले हामीले रु ११ लाख ४५ हजारको लागतमा पिलरको काम पूरा गरेका छौँ, तर आर्थिक सङ्कलन रु नौ लाख मात्रै भएको छ”, उहाँले भन्नुभयो, “अब थप आर्थिक सङ्कलन भएपछि दोस्रो चरणको काम शुरु हुन्छ ।”

करीब ४० वर्ष पुरानो भवनमा दृष्टिविहीन विद्यार्थी रातदिन कटाउन बाध्य भएको भन्दै चारकोठे भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । एउटा कोठा छात्र, एउटा कोठा छात्रा, एउटा सभाहल र एउटा भान्साका लागि प्रयोग गर्ने गरी भवन निर्माण गर्न लागिएको हो । साथै शौचालय, स्नानगृह पनि निर्माण हुनेछन् ।

दशैँको घटस्थापनामा निर्माणको शिलान्यास गरिएको उक्त भवन निर्माणको काम जतिसक्यो छिटो पूरा गर्ने योजनामा आफूहरु रहेको समेत उहाँले बताउनुभयो । त्यसका लागि अहिले पूर्वविद्यार्थी थप आर्थिक रकम सङ्कलन गर्न लागिपरेको समेत उहाँको भनाइ छ । न्यौपानेसँगै उक्त विद्यालयमा अध्ययन गरी हाल जापान रहनुभएका वीरेन्द्र केसीलगायतका पूर्वविद्यार्थीको सक्रियतामा भवन निर्माण शुरु भएको हो ।

दृष्टिविहीन विद्यार्थी आफँैमा शारीरिक हिसाबले कमजोर हुने भन्दै उनीहरुको आवास व्यवस्थित र सहज हुनुपर्ने हेतुले यस्तो कार्य अघि बढाएको उहाँको भनाइ छ । विद्यालयको भवन जीर्ण हुँदा वर्षात्मा पानी चुहिने गरेको विद्यालयका प्रधानाध्यापक किरण पोखरेलले बताउनुभयो । “भवन निकै जीर्ण थियो, पानी चुहिन्थ्यो”, उहाँले भन्नुभयो, “कहिले भित्रै सर्प, भ्यागुता गएका हुन्थे ।”

अहिले दृष्टिविहीनका लागि भनेर छुट्टै भवनको व्यवस्था नगरेको र आफूहरुले पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासोसमेत उहाँले गर्नुभयो । विद्यालयमा अहिले कक्षा १२ सम्म १३ दृष्टिविहीन विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक पोखरेलको भनाइ छ । विसं २०५२ देखि पढाइ शुरु भएको दृष्टिविहीन कक्षामा अहिले दुई शिक्षक कार्यरत हुनुहुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !