१४ बैशाख २०८१, शुक्रबार

गाजा लक्ष्यित घरबास


गुर्जुधारा होमस्टे

६ पुस, बलेवा । बागलुङको जैमिनी नगरपालिका– ३ मा रहेको गाजाको दहलाई लक्ष्य गरेर धमाधम घरबास (होमस्टे) स्थापना गरिएका छन् । गाजाको दह र गाजाको धुरी पुग्ने पर्यटकको सहजताका लागि जिल्लाको दुई स्थानीय तहले घरबास सञ्चालनमा चासो देखाएका हुन् । गाजाको दह पुग्ने पर्यटकका लागि खाने बस्ने व्यवस्थासहित जैमिनी नगरपालिका–३ दमेकमा सामुदायिक घरबास सञ्चालनमा आएको छ भने काठेखोला गाउँपालिकाको रेशमा गाजाको दहलाई नै लक्ष्य गरेर तीनवटा सामुदायिक घरबास सञ्चालन हुन गइरहेको छ ।

सिद्ध बराहा सामुदायिक होमस्टे नामकरण गरिएको घरबास सञ्चालनमा ल्याएको जैमिनी–३ दमेका शेरबहादुर पुनले जानकारी दिए । पुनसहित पाँचजनाले घरबास सञ्चालनमा ल्याएका हुन् । पचास जना क्षमताको घरबासमा स्थानीय कोदोका परिकार, आलुका परिकार र भाँगोको अचार मुख्य खानाको रुपमा राखिएको छ । जैमिनी नगरपालिकाको कार्यालयमा औपचारिक रुपमा दर्ता गरेर घरबास सञ्चालनमा ल्याइएको हो । प्राकृतिक हिसाबले निकै मनमोहक रहेको गाजा क्षेत्रमा घरबास सञ्चालनमा ल्याएर आयआर्जन बढाउने माध्यमको रुपमा अपनाउन लागिएको पुनले बताए ।

त्यस्तै, गाजाको दह र धुरीसम्म पुग्ने पर्यटककै लागि भन्दै काठेखोला गाउँपालिका–७ रेशमा तीनवटा घरबास दर्ता भएका छन् । तत्काल सञ्चालनमा ल्याउने गरी गाउँपालिकाको कार्यालयमा तीनवटा घरबास दर्ता भएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । बौर सामुदायिक होमस्टे, ढोटा देउराली सामुदायिक होमस्टे र रेश सामुदायिक होमस्टे दर्ता भएर सञ्चालनको चरणमा प्रवेश गरेका हुन् । रेशमा सञ्चालन हुने तीनवटै सामुदायिक घरबासमा २१ परिवार सहभागी हुने वडाध्यक्ष लामिछानेले बताए । गाजाको दहसम्म पुग्ने कच्ची सडक र पदमार्गसमेत रेशमा रहेकाले पर्यटकको सुविधाका लागि घरबास सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ । सामुदायिक रुपमा सञ्चालनमा आएका घरबासमा पर्यटकको हरेक पल उत्साहमा बित्ने गरी स्थानीय खानाका परिकार, संस्कृति, गीत सङ्गीत प्रस्तुतिसमेतको व्यवस्था मिलाइएको छ । पदमार्ग र सडकमार्ग दुवैमार्फत पुग्न सकिने गाजाको दह जिल्लाका चारवटा स्थानीय तहको सङ्गम स्थल हो ।
पूर्वमा बागलुङ नगरपालिका, उत्तरमा कोखोला गाउँपालिका, पश्चिममा गल्कोट नगरपालिका र दक्षिणमा जैमिनी नगरपालिका हुँदै गाजाको दह पुग्न सकिन्छ । चारैतर्फबाट पैदल र सवारीको प्रयोग गरेर गाजाको दह पुग्न सकिने जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताए । “घरबास सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्या वृद्धि हुने आशा राखेका छौं,” शर्माले भने –“खाने बस्ने समस्याका कारण यहाँ घुम्न आउने पर्यटक कम भएको हामीलाई महसुश भएको छ ।” दहबाट देखिने हिमाली दृश्यले सबैको मन लोभ्याउने गरेको छ । वसन्त याममा ढकमक्क फुल्ने गुराँसले दहको सौन्दर्य बढाउने गरेको छ ।

स्थानीयवासीले दहको सौन्दर्य बिग्रन नदिन संरक्षण योजना ल्याएका छन् । दहको पुरानै स्वरुप यथावत रहेको स्थानीय रामबहादुर छन्त्यालले बताए । दहको संरक्षणका लागि वरिपरिबाट पर्खाल लगाइएको छ । उच्च पहाडमा रहेको दहमा पानीको मात्रा र दहको गहिराइको विषयमा भने यकिन जानकारी छैन । दह क्षेत्रलाई प्राकृतिक, धार्मिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिइएको जैमिनी नगरपालिकाले जनाएको छ । सरकारले विकास गर्नुपर्ने १०० गन्तव्यमा सूचीकृत गरिएपछि गाजाको महत्व थप बढेको जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले बताए । पर्यटकीय पूर्वाधार बनाउन नगरपालिकासमेत लागिरहेको छ । हिउँदको समयमा दह घुम्न आन्तरिक पर्यटकको ओइरो नै लाग्ने गरेको छ । विभिन्न विद्यालय र सङ्घसंस्थाले अवलोकन भ्रमण दहमा लैजाने गरेका छन् ।

घना जङ्गलको बाटो हिमाल हेर्दै पदयात्रा गर्नेका लागि गाजा दह महत्वपूर्ण गन्तव्य हो । गाजा दह यात्राको क्रममा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े लगायतका एक दर्जन भन्दा बढी हिमाल देख्न सकिन्छ । गाजाको धुरीबाट देशका विभिन्न आठ जिल्लाका उच्च बस्तीहरुको समेत अवलोकन गर्न सकिने स्थानीय बासिन्दा बताउँछन् ।

दह क्षेत्रमा भौतिक पूर्वाधार विकासका लागि आफूले पहल थालेको प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले बताए । “गाजालाई जिल्लाको महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके जिल्लाका चारवटा स्थानीय तहलाई फाइदा पुग्छ,” पाठकले भने – “अहिले सञ्चालनमा ल्याइएका घरबासले मात्रै धेरैले रोजगारी पाउँछन् ।” गाजा लक्ष्य गरेर सञ्चालनमा आएका घरबासहरुलाई अन्य स्थानीय पर्यटकीय क्षेत्रसँग पनि जोडेर अघि बढ्नुपर्ने उनको सुझाव छ ।
सञ्चालनमा आएका र सञ्चालनको चरणमा रहेका सबै घरबासहरु विदाको समय बिताउन र कामको बोझ बिसाउने ठाउँको रुपमा विकास गर्न सकिने रेशका स्थानीयवासी युवराज गौतमले बताए । दह नजीकै ‘भ्यू टावर’, पदमार्ग, सामुदायिक लजजस्ता पूर्वाधार निर्माण गर्न सकिए यस ठाउँमा आर्थिक गतिविधिले गति लिने निर्विवाद छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !