२१ बैशाख २०८१, शुक्रबार

भोजपुरलाई तराईसँग जोड्ने दिंला-भोजपुर-घोडेटार-चुहार सडक कालोपत्रे गरिने


कालोपत्रे

भोजपुर । भोजपुरलाई तराईसँग जोड्ने दिंला-भोजपुर-घोडेटार-चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने छ ।

कालोपत्रे गर्न ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) आयोजनाले वातावरणीय परीक्षणको सार्वजनिक सुनुवाइ गरेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँपालिकाले अन्य प्रक्रिया पूरा गरिसकेको उनको भनाइ छ ।

अध्यक्ष राईले भने, “भोजपुरवासीको चासोको रुपमा रहेको उत्तर दक्षिण जोड्ने यो सकडको काम चाँडै सुरु हुँदैछ । २२ किलोमिटर सडक कालोपत्रेपछि अन्य क्षेत्रको पनि काम अघि बढ्छ ।” ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले सडक निर्माणको काम थालेको हो ।

एक सय २५ किलोमिटर लामो दिंला भोजपुर घोडेटार चुहार हुँदै सुनसरीको चतरा सडकको स्तरोन्नति र कालोपत्रेको काम सुरु भएको छ । एशियाली विकास बैंक (एडिबी)को लगानीमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)ले निर्माण थाल्ने छ ।

भोजपुर र उदयपुरलाई जोड्न दूधकोसी नदीमा पुल बनिरहेको छ । चुहारको पुल निर्माण सम्पन्न भएसँगै भोजपुर सदरमुकामबाट ९० किलोमिटरको दूरी पार गरेपछि सुनसरीको चतरा पुगिनेछ । भोजपुर सदरमुकामबाट पूर्व हुँदै जाने हो भने ९२ किलोमिटरको दुरी पार गरेपछि धनकुटाको हिले पुगिन्छ । दिंलाबाट चतरा पुग्न १२५ किलोमिटरको यात्रा तय गर्नुपर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !