असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक Nepalpatra असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक
९ श्रावण २०७८, शनिबार

असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक


असारे विकास

कर्णाली । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक भएको बताएका छन् ।

उर्जा मन्त्रालयका सचिव, योजना महाशाखा तथा दशवटै जिल्लाका कार्यालय प्रमुखसँगको आजको भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले असारको अन्त्यतिर गरिने विकासले कामको गुणस्तरमा प्रश्न चिन्ह खडा गर्ने जनाए । तोकिएकै समयमा बजेट कार्यान्वयन गर्ने परम्पराको विकास गर्न मन्त्रालयले कार्यान्वयनमुखी बजेट ल्याएको उनको दावी छ ।

“असार महिनाको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने विद्यमान संस्कृतिको अन्त्य गर्न सबै क्षेत्र लाग्नुपर्दछ”, उनले भने, “परम्परागत विकासशैलीको निरन्तरताले आजको व्यवस्था प्रणालीलाई पनि त गिज्याइरहेको छ नि ? सबैले इच्छाशक्ति देखाएर आ-आफ्नो दायित्व पुरा गरौं । हरेक योजनाहरु निर्धारित समयमै सम्पन्न हुन्छन् । असार कुर्नै पर्दैन ।”

आगामी आर्थिक वर्षको बजेट समयमै कार्यान्वयन गर्नेतर्फ अहिलेदेखि नै योजना बनाउन कार्यालय प्रमुखहरुलाई उनले निर्देशन दिएको छन् । “मन्त्रालयले वितरणमुखी होइन, कार्यान्वयनमुखी बजेट ल्याएको छ । बेलैमा सम्पन्न गर्ने लक्ष्यका साथ अहिलेदेखिनै योजना बनाउनतर्फ लाग्नुहोस्”, मन्त्री श्रेष्ठले भने ।

कर्णालीमा विकास योजनाहरुको कार्यान्वयन पक्ष एकदमै कमजोर रहेको औंल्याउनुभएको उनले बजेट अख्तियारी पाउनेबित्तिकै कार्यान्वयनतर्फ लागे असार कुर्नु नपर्ने र सबै योजना सम्पन्न हुने दावी गरे ।

भर्चुअल बैठकमा १० जिल्लाका कार्यालय प्रमुखहरुले आवश्यक प्राविधिक जनशक्ति नहुँदा काममा समस्या हुँदै आएको गुनासो राखेका थिए । उनीहरुले समयमै अख्तियारी नआउने विषयले पनि तोकिएको समयमा काम गर्न गाह्रो हुने गरेको औंल्याएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !