१३ बैशाख २०८१, बिहिबार

मुख्यमन्त्री राईले गरे रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास


रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटानमा निर्माण हुन लागेको प्रदेश नं १ कै ठूलो परियोजना रिफ्रेसमेन्ट सेन्टरको बुधबार औपचारिक रूपमा शिलान्यास गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त परियोजनाको शिलान्यास गर्नुभएको हो ।

शिलान्याससँगै रु दुई अर्ब अनुमानित लागत रहेको परियोजनाको पहिलो चरणको कामको शुरुआत भएको कोशी रिफ्रेस्मेन्ट सेन्टर परियोजना कार्यालय प्रदेश १ सुनसरीका प्रशासन प्रमुख राजकुमार मेहताले बताउनुभयो । प्रदेश १ सरकारको बृहत् र महत्वकांक्षी परियोजना मानिएको रिफ्रेसमेन्ट सेन्टरलाई आधुनिक र भव्य बनाउने कार्यालयले जनाएको छ । प्रदेश सरकारले दुई वर्ष अघिबाटै परियोजनाअन्तर्गतका कार्य अघि बढाएको भए पनि कोरोना भाइरसका कारण शिलान्यास कार्यमा ढिलाइ हुनुका साथै निर्माण चरणका योजनामा समेत कोरोनाको प्रभाव देखिएको मेहताको भनाइ छ ।

दुई चरणमा निर्माणका काम अघि बढाइने छन् । पहिलो चरणमा रु २७ करोड पाँच लाख १९ हजार बराबरको काम थालिने परियोजना कार्यालयले जनाएको छ । कविन्द्र नव सिर्जनशील जेभी सिनामङ्गल काठमाडौँले उक्त परियोजनाअन्तर्गतका संरचना निर्माण गर्नका लागि ठेक्का पाएको छ । प्रदेश १ कै मात्र नभई मुलुककै नमूना दाबी गरिएको सो परियोजनाले पूर्वलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले रिफ्रेसमेन्ट सेन्टरको निर्माण प्रदेशकै लागि गौरवको विषय सावित हुने बताउनुभयो । मुख्यमन्त्री राईले कोशीको बगरलाई सदुपयोग गरी पूर्वी नाका प्रवेशका रूपमा रहेको कटान क्षेत्रलाई पर्यटकीय गन्तव्यसँग जोड्ने गरी काम थालिएको बताउनुभयो ।

परियोजनाअन्तर्गत कटान क्षेत्रमा आधुनिक बसपार्कलगायत, होटल, स्विमिङ पुल, फ्यूल सेन्टर, स्वास्थ्यचौकी, ट्राफिक र प्रहरीको बन्दोबस्तीलगायतका संरचना निर्माण गरिने आयोजना प्रमुख सुरेशप्रसाद साहले बताउनुभो । विसं २०६५ भदौ २ गतेको कोशीको बाढीले बालुवामा परिणत गरेको जग्गालाई अधिग्रहण गरी रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढाइएको हो ।

निर्माण हुन लागेको संरचना कोशी गाउँपालिका क्षेत्रमा पर्ने भएकाले सो पालिकाले समेत उक्त परियोजनामा लगानी गर्दैछ । सप्तकोशी नदीसँगै रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपास रहेका पूर्वका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा उक्त परियोजना कोशेढुङगा सावित हुने गाउँपालिकाको विश्वास रहेको गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले बताउनुभयो । परियोजना सञ्चालनमा ल्याउन लागिएको क्षेत्र भारतीयसहित आन्तरिक तथा बाह्य पर्यटकको सहजै रोजाइमा पर्ने भएकाले समेत सम्भावित पर्यटकीय गन्तव्यका रूपमा हेरिएको छ ।

प्रदेशकै महत्वकांक्षी र ठूलो परियोजनाको रूपमा प्राथमिकतामा राखिएको परियोजनालाई प्रदेश १ सरकारले तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिएको छ । करिब २२ बिघा जग्गामा विभिन्न भौतिक संरचना निर्माण कार्य गरिने परियोजना कार्यालयका मेहताले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !