२६ बैशाख २०८१, बुधबार

‘चम्पावती फुड्स फरेस्ट एण्ड रिसोर्ट’ निर्माण शुरु


खोटाङ

खोटाङ, ९ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सार्कीडाँडामा ‘चम्पावती फुड्सफरेस्ट एण्ड रिसोर्ट’ निर्माण शुरु गरिएको छ । बुइपाका चम्पावती माविका नाममा रहेको करीब ८० रोपनी खाली जग्गा सदुपयोग गर्दै आगामी दिनमा रिसोर्टका रुपमा विकास गर्ने उद्देश्यका साथ यस वर्षदेखि विभिन्न प्रजातिको फलफूलखेती शुरु गरिएको छ ।

तीन वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने उद्देश्यका साथ चम्पावती माविले हालै ५०० बोट एभोकाडोको बिरुवा रोपेको छ । कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको रु तीन लाख ५० हजारबाट खरीद गरेर काठमाडौँबाट ल्याइएको एभोकाडोको बिरुवा विद्यालयको २५ रोपनी बाँझो जग्गामा रोपिएको हो ।लामो समयदेखि उपयोगविहीन विद्यालयको जग्गा सदुपयोग गर्दै आगामी दिनमा घरबाससहितको रिसोर्ट बनाउने उद्देश्यले काम थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवविक्रम राईले बताउनुभयो । “चम्पावती फुड्सफरेस्ट एण्ड रिसोर्ट निर्माणका लागि ‘एक महिनाको कमाइ दान, नमूना चम्पावती हाम्रो अभियान’ नारा लिइएको छ”, उहाँले भन्नुभयो,“अभियानको शुरुआती चरणमै रु २० लाखभन्दा बढी रकम दिने वचन पाइएको छ ।”

त्यहाँ पढेर विभिन्न क्षेत्रमा कार्यरत पूर्वविद्यार्थीलाई सहयोगका लागि अनुरोध गरिने विव्यास अध्यक्ष राईले बताउनुभयो । सार्कीडाँडामा निर्माण शुरु गरिएको रिसोर्ट निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनको कामसमेत शुरु गरिएको जनाइएको छ । खेतीयोग्य बाँझो जमीन नराख्ने नेपाल सरकारको नीतिलाई टेवा पुग्ने गरी विद्यालयका नाममा रहेको खाली जग्गामा रिसोर्ट निर्माणको काम शुरु गरिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “हाम्रो वडालाई विभिन्न प्रजातिका फलफूलको पकेट क्षेत्र नै घोषणा गरिएको छ”, उहाँले भन्नुभयो, “फलफूलका लागि खाली रहेको जग्गाको माटोसमेत परीक्षण गरेर व्यावसायिक खेती शुरु गरिएकाले सफल हुनेमा हामीहरु विश्वस्त छौँ ।”

वडाध्यक्ष राईका अनुसार नगरपालिकाकै नीति तथा कार्यक्रम अनुसार फलफूलको पकेट क्षेत्र बनाउने काम शुरु गरिएको बुइपामा लिची, कागती र एभोकाडोको व्यावसायिक खेती शुरु गरिएको छ । कागती र लिचीका बिरुवाले उत्पादनसमेत दिन शुरु गरेका छन् एभोकाडो भर्खरै मात्र रोप्न थालिएको छ ।

बुइपालाई आगामी दिनमा पर्यटन विकाससँग जोड्ने नगर उपप्रमुख वीणादेवी राईले बताउनुभयो । “बुइपाको पञ्चदोबाटोमा विश्वकै अग्लो यलम्बरको मूर्तिसहित ‘यलम्बर पार्क’ निर्माणको काम शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “बुइपाको व्यापारिक केन्द्र पञ्चदोबाटोमा निर्माणाधीन १०० फिट अग्लो यलम्बरको मूर्तिसहितको पार्कले नगरपालिकाको मात्र नभई प्रदेश नं १ कै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।”

करी रु १४ करोड लागतमा निर्माणको सम्पूर्ण काम पूरा हुने उद्यानका लागि प्रदेश नं १ सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहने सम्झौतामा उल्लेख छ । माझ किराँत खोटाङको बुइपामा निर्माण गरिने उद्यानका लागि नगरपालिकाले गत वर्ष रु ७२ लाख बजेट विनियोजन गरेको थियो ।

आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिइने गरी निर्माण शुरु गरिएको यलम्बर उद्यानभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रससहितको कुर्सी, निःशुल्क वाइफाइ सेवा र कफी तथा फास्टफुड सेवा उपलब्ध हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताउनुभयो ।

आगामी तीन वर्षभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने गरी निर्माण शुरु गरिएको यलम्बर पार्क अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई चम्पावती फुड्सफरेस्ट एण्ड रिसोर्टमा लगेर राखिने जनाइएको छ । किराँती ऐतिहासिकस्थल बुइपाको पञ्चदोबाटोमा यलम्बर उद्यानका साथै सार्कीडाँडामा चम्पावती फुड्सफरेस्ट एण्ड रिसोर्ट निर्माणको काम शुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । यलम्बर उद्यानदेखि किराँती सभ्यताको उद्गमथलो हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजना बनाइएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बर उद्यानलाई महत्वका साथ हेरिएको छ । तस्वीर उपलब्ध छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !