२१ बैशाख २०८१, शुक्रबार

पत्नीको स्मृतिमा नेता चौधरीद्वारा पत्रकारिता पुरस्कार स्थापना


पुरस्कार

लहान । नेपाली कांग्रेस सिरहाका नेता तथा समाजसेवी महेश चौधरीले पत्नीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । ‘सङ्गीता कर्माचार्य स्मृति पत्रकारिता पुरस्कार’का लागि रु ५१ हजार राशिको पुरस्कार कोष स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।

आउँदो मङ्सिर २२ गते आयोजना हुने कार्यक्रममा जिल्लाका एक पत्रकारलाई सो पुरस्कार प्रदान गरिने नेता चौधरीले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका प्रतिनिधि र सङ्गीता कर्माचार्य स्मृति प्रतिष्ठानका प्रतिनिधिसहितको बैठकले सो पुरस्कारका लागि एक सञ्चारकर्मीको नाम छनोट गर्ने जनाइएको छ ।

कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका बेला गाउँ–गाउँका गरिब विपन्न परिवारलाई राहत वितरण गर्न सक्रिय कर्माचार्यले गत वैशाख २८ गते आमाको मुख हेर्ने दिन लहान नगरपालिका– १३ का २१ महिलालाई साडी वितरण गर्नुभएको थियो । त्यही दिन कोरोना सङ्क्रमण भएपछि उहाँलाई उपचारको लागि झापास्थित अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कर्माचार्यको २०७८ जेठ २२ गते मृत्यु भएको थियो ।

विद्युत् चुहावट पाँच प्रतिशत घट्यो

कोरोना महामारीमा पनि विद्युत् चुहाबट नियन्त्रण अभियान सञ्चालन भएकाले आर्थिक वर्ष २०७७÷७८ मा लहान क्षेत्रमा करिब पाँच प्रतिशत विद्युत् चुहाबटमा कमी आएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहाबट नियन्त्रणका लागि अभियान सञ्चालन गरेकाले चुहाबट ३२ दशमलव ९५ प्रतिशतमा झरेको हो । विगत वर्षमा करिब ३७ प्रतिशत विद्युत् चुहाबट हुँदै आएकामा आर्थिक वर्ष २०७७÷७८ मा करिब पाँच प्रतिशत चुहाबट घटेको केन्द्रका प्रमुख ई जीतेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

विद्युत् चुहावट नियन्त्रणका लागि सञ्चालित अभियानका क्रममा हुकिङ गरी विद्युत् चुहाबट गर्नेलाई कारबाही गरी रु १७ लाख ४७ हजार ७५४ राजस्व सङ्कलन र १७६ थान विद्युत् उपकरणसमेत बरामद गरिएको थियो । उक्त अभियानपछि आर्थिक गत आर्थिक वर्ष चार हजार ३३९ नयाँ ग्राहक थपिएका थिए । आर्थिक वर्ष २०७६÷७७ मा ५८ हजार ८८४ ग्राहक रहेकोमा आर्थिक वर्ष २०७७÷७८ मा ६३ हजार २२३ ग्राहक सङ्ख्या पुगेको जनाएको छ ।

यस्तै समयमै विद्युत्को महसुल नबुझाउने ६७४ ग्राहको विद्युत् लाइनसमेत काटिएको थियो । विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र समयमै विद्युत् महसुल बुझाउन पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काटेर रु दुई करोड ७९ लाख ५७ हजार २७१ बक्यौता असूली भएको प्रमुख यादवको भनाइ थियो । सो अवधिमा कार्यालयले रु ३४ करोड ७२ लाख ९३ हजार २२४ महसुस सङ्कलन भएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !