१९ बैशाख २०८१, बुधबार

को हुन् प्रदेश नं १ मा मुख्यमन्त्री बनेका भीम आचार्य ?


भीम आचार्य

धरान । सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । संविधानको धारा १६८ (१) अनुसार उहाँ मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गरेपछि आचार्यलाई संसदीय दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएको हो ।

नेकपा (एमाले)का सचिवसमेत रहनुभएका आचार्य सुनसरी–१ (ख)बाट विसं २०७४ को निर्वाचनामा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि उहाँ संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं ६ बाट विजयी हुनुभएको थियो ।

विसं २०१६ वैशाख १४ गते धनकुटामा जन्मनुभएका आचार्य लामो सयमदेखि सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दै आउनुभएको छ । सन् १९९५ देखि विद्यार्थीबाट राजनीति यात्रा शुरु गर्नुभएका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय हुनुहुन्छ । विसं २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्नुभएको थियो ।

विसं २०७४ मा भएको पार्टीको प्रदेश संसदीय दलको नेतामा उहाँ शेरधन राईसँग दुई मतले पराजय हुनुभएको थियो । नेकपा एमालेका वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालनिकट मानिने आचार्य विगत एक वर्षअघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनुपर्छ भन्ने अभियानमा हुनुहुन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !