२३ बैशाख २०८१, आइतबार

गण्डकी प्रदेश बालमैत्री हुन्छ


पृथ्वीसुब्बा गुरुङ

१३ फागुन, चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश बालमैत्री प्रदेश हुने बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय दुईदिने बालभेला एवं बालपरिषद् गठन कार्यक्रममा मुख्यमन्त्रीले अब प्रदेशका हरेक संरचना बालमैत्री हुने बताउनुभएको हो ।

उहाँले बालअधिकारको प्रत्याभूतिका लागि गण्डकी प्रदेश सरकार निकै सर्तक रहेको बताउँदै बालबालिकामाथि बढिरहेको दुव्र्यहार न्यूनीकरणका लागि प्रदेश सरकारले छुट्टै नीति निर्माण गरेर कार्यान्वयन गर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्रीले मदिराको अनियन्त्रित व्यापारका कारणले बालबालिकामाथि हिंसा बढिरहेको भन्दै मदिरा नियन्त्रणको नीति बनाउन आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले हाल प्रदेशमा ९३ प्रतिशत बालबालिका शिक्षाको पहुँचमा रहेको भन्दै बाँकीलाई पनि शिक्षाको पहुँचभित्र ल्याइने बताउनुभयो ।

सो अवसरमा अपाङ्ग महासङ्घका प्रतिनिधि खुमराज शर्माले बालमैत्री संरचनासँगै अपाङ्गमैत्री संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

गैसस महासङ्घ केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले नेपालको संवैधानिक व्यवस्थाले भेदभावविरुद्धको अधिकार, महिला र बालबालिकाको विशेष अधिकार तथा बालबालिकाको विशेष अधिकारलाई मौलिक हकका रुपमा अङ्गीकार गरेको बताउँदै प्रदेश सरकारले नीति बनाउँदा बालमैत्री नीतिमा जोड दिन आग्रह गर्नुभयो ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव नारायण आचार्यले गण्डकी प्रदेशका ११ जिल्लाबाट ४४ बालक्लबका बालबालिकाको सहभागिता रहेको र प्रदेशस्तरीय बाल परिषद्को गठन हुने जानकारी दिनुभयो ।

सोही अवसरमा माघ १२ देखि २१ गतेसम्म पाकिस्तानमा सम्पन्न प्रथम टी ट्वान्टी अन्तर्राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताका विजेतालाई सामाजिक विकास मन्त्रालयले नगद रु पाँच लाख सम्मानस्वरुप प्रदान गरेको थियो । कार्यक्रममा बालक्लब भाइबहिनी बालविवाहसम्बन्धी सचेतनामूलक नाटकसमेत प्रदर्शन गरिएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !