१८ बैशाख २०८१, मंगलबार

‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’


गण्डकी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद बनाउनुपर्ने बेला आएको बताउनुभएको छ ।आदिकविको दुई सय आठौँ जन्मजयन्तीका अवसरमा आज शुभकामना वक्तव्य जारी गर्दै उहाँले भन्नुभयो, “भाषा निरन्तर रुपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय हो । भानुभक्तले लगाएको बलियो जगमा टेकेर नेपाली भाषाको श्रीवृद्धिमा लाग्न यस पावन अवसरमा म सम्पूर्ण विद्वानहरुलाई अनुरोध गर्दछु ।”

उहाँले युगपुरुष भानुभक्त जन्मेको स्थल पुण्य भूमि हो जनाउँदै भन्नुभयो, “साहित्यकारका लागि तनहुँ तीर्थस्थल हो । भानुभक्तको जन्मस्थललाई नेपाली भाषा, साहित्य र संस्कृति विकासको केन्द्रका रुपमा स्थापित गर्नु आवश्यक छ ।” पुण्य भूमिको समृद्धिका लागि र चुँदी रम्घालाई नेपाली भाषाको विकासको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न उहाँले प्रदेश सरकार सरोकारपक्ष सबैसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको जनाउनुभयो ।

पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाललाई आदिकविले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको गौरवपूर्ण सन्दर्भलाई मुुख्यमन्त्री नेपालीले स्मरण गर्नुभयो । रामायण जस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पु¥याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवद्र्धनमा भानुले गरेको योगदान नेपाल र नेपालीको मानसपटलमा युगयुगसम्म रहने शुभकामना सन्देशमा उल्लेख छ ।

विसं १९७१ असार २९ मा तनहुँको चुँदी रम्घा गाउँमा कुलीन परिवारमा भानुको जन्म भएको हो । भानुभक्त सम्पूर्ण नेपाली जातिका लागि प्रेरणा र गौरवको स्रोत जनाउँदै उहाँले संसारभर छरिएर रहेका नेपालीहरुका लागि आदिकवि सदासर्वदा प्रातःस्मरणीय रहेको विज्ञप्तिमा बताउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !