२१ बैशाख २०८१, शुक्रबार

फोहरमैलाका लागि जग्गा प्राप्त गर्न नसक्दा परियोजना गुम्ने खतरा


fohor

कञ्चनपुर । फोहोरमैला व्यवस्थापन केन्द्रका लागि भीमदत्त नगरपालिकामा जग्गा प्राप्तिमा देखिएको अवरोधले निर्माणले गति लिन सकेको छैन । केन्द्रका लगि खोजिएको जग्गामा स्थानीय बासिन्दाको अवरोध हुन थालेपछि नगरपलिकाले जग्गाको टुङ्गो लगाउन नसक्दा निर्माणले गति लिन नसकेको हो ।

नगरपालिकाले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास योजनाअन्तर्गत रु ६० करोडको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको योजना अघि सारेको छ । योजना निर्माणका लागि छनोट गरिएका स्थानमा अवरोध हुँदै आएपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अनिश्चित हुन पुगेको छ । एसियाली विकास बैंकको रु तीन अर्ब ऋण सहयोगअन्र्तगतको यो परियोजनामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणलाई पहिलो सर्तका रुपमा राखिएको छ । फोहरमैला व्यवस्थापन केन्द्र निर्माणसँगै नगर क्षेत्रमा ३६ किलोमिटर ढलसहितको पक्की सडक निर्माणका योजना पनि छन् ।

फोहरमैला व्यवस्थापन केन्द्र बनाउन नगरपालिकाले सबै पार्टीका जिल्ला, नगर र वडासम्मका नेतासित छलफल गरिसकेको छ । नगरपालिका कार्यालयमा पटकपटक सर्वदलीय र सर्वपक्षीय छलफल गरिएका छन् । नगरप्रमुख सुरेन्द्र विष्टले सर्वदलीय र सर्वपक्षीय छलफलमा गरिएका सहमति विपरीत स्थानीयस्तरमा अवरोध हुँदा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन समस्या देखिएको बताउनुभयो ।

फोहरमैला व्यवस्थापन केन्द्र बनाउन नगरपालिकालाई २० बिघा जमिन चाहिने देखिएको छ । “जग्गा प्राप्ति गर्न लागिपरेका छौँ, २० बिघा जमिन प्राप्त हुन नसकेर समस्या भयो”, नगरप्रमुख बिष्टले भन्नुभयो । एसियाली विकास बैंकले पनि अन्तिम पटक १५ दिनको म्याद तोकेर समय दिएपछि नगरपालिका झन् समस्यामा परेको छ ।

“निर्धारित समयभित्र स्थानको टुङ्गो लाग्न सकेन भने यो रु तीन अर्बको परियोजना जान्छ, फेरि अर्को आउने सम्भावना नै हुँदैन”, उहाँले भन्नुभयो, “नगरपालिकाको बजेटबाट यति ठूलो रकम लगानी गरी फोहरमैला व्यवस्थापन केन्द्र बनाउन सक्दैनौँ ।” क्षेत्रीय सहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरणअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्रसहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम अघि बढेको हो । बैंकले दिएको समयावधिसमेत सकिनै लाग्दा योजना पहिलो चरणबाट गुम्ने खतरा आउन लागेको छ ।

नगरपालिका स्थापनादेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुन सकेको छैन । अहिले नगरपालिका क्षेत्रबाट दैनिक सात दशमलव २९ टन फोहर निस्कने गरेको छ । महेन्द्रनगर बजारसहित आसपासका ७०० घरबाट फोहर सङ्कलन गरी नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । विसं २०३४ मा स्थापना गरिएको नगरपालिकामा यसअघि डम्पिङसाइट बनाउन पटक–पटक प्रयत्न गरिएको थियो । पछिल्लो पटक आधुनिक प्रविधिसहितको केन्द्र बनाएर फोहरमैला व्यवस्थापन गर्ने योजना अघि सारिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !