५ जेष्ठ २०८१, शनिबार

गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल


डोरमणि पौडेल

हेटौँडा, ९ वैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाको त्रासका कारण गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिइनुपर्ने बताउनुभएको छ । प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुखसँगको छलफलमा मुख्यमन्त्री पौडेलले भारत तथा अन्य देशबाट समेत रोजगारी गुमाएर फर्कनसक्ने लाखौँ युवाबारे ध्यान दिन सकिएन भने त्यसले गम्भीर असर गर्नसक्ने बताउनुभयो ।

उहाँले एकल तथा सामूहिक एवं चक्लाबन्दी खेतीलाई व्यवस्थित गर्ने, पशुपालनलगायत कृषिमा रोजगारी एवं स्वरोजगारीको अवसर सिर्जना गर्नसक्ने हो भने त्यस्ता जनशक्तिको व्यवस्थापन हुने धारणा राख्नुभयो । मुख्यमन्त्री पौडेलले अब हिजो बाँझो भएको खेत जोत्नुपर्ने र उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । “अब हरेक स्थानीय तहले कहाँ–कति खेतबारी बाँझो छन् र त्यसलाई कसरी उर्वर बनाउन सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

उहाँले लकडाउनको अवधिमा रोकिएका साना विकास निर्माणका काम र कृषि उद्यमलाई सावधानीसहित र पूर्ण सुरक्षाका साथ पुनःसञ्चालन गर्न अनुरोध गर्नुभयो । पौडेलले स्थानीय प्रशासनको निर्देशन मान्ने गरी प्रत्यक्ष निगरानीमा एउटै परिवारका सदस्य मिलेर सञ्चालन भएका तथा थोरै जनशक्ति भएका आवासीय घरेलु तथा साना उद्योग त्यसैलाई क्वारेन्टाइन मानेर सञ्चालन गराउन अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको महामरीबाट बच्न विदेशबाट आएका हरेक नागरिक र तिनीसँग सम्पर्कमा रहेका आफन्तको परीक्षण गर्नुपर्ने हुँदा उनीहरुको खोजी गरी परीक्षण गर्नुपर्ने बताउनुभयो । कतिपय त्यस्ता नागरिक लुकेरसमेत बसेको पाइएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । पौडेलले विभिन्न स्थानबाट गाउँ फर्कँदै गरेका नागरिक जो–कोहीलाई पनि गाउँ फर्कन व्यवस्था मिलाउन निर्देशन दिनुभयो । उहाँले खाद्य सामग्री पु¥याएर रित्तै फर्किएका गाडीमा उनीहरुलाई पठाउँदा खर्चसमेत नलाग्ने भएकाले स्थानीय प्रशासनसँग समन्वय गरेर पठाउन अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिका, मेलम्ची नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, शिवपुरी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका प्रमुखसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्नुभएको हो । त्यस्तै मख्यमन्त्री पौडेलले आज दिउँसो १ बजे रसुवा र धादिङका विभिन्न स्थानीय तहका प्रमुखसँग कुराकानी गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !