२१ बैशाख २०८१, शुक्रबार

माधव नेपाल निकट यादवचन्द्र शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस


काठमाडाैं । सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ । आज विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो ।

वर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव नेपालनिकट शर्मालाई प्रदेश प्रमुख सिफारिस गरेको हो ।शर्मा २०६५ मा माधव नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव बनेका थिए । यादवले लामो समय माधव नेपालको सचिवालयमा काम गरेका छन् ।

शर्मालाई नेपालले राजदूत बनाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई आग्रह गरेका थिए । तर ओलीले शर्माको साटो माधव नेपाल निकटकै एमाले नेता बंशीधर मिश्रलाई बंगलादेशको राजदूत बनाएका थिए ।

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववत् सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाउँदै नयाँ नियुक्त गरिरहेको छ । अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश १, सुदूरपश्चिम र कर्णाली प्रदेश प्रमुख मात्र हटाउन बाँकी छ ।

यसअघि लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भएका थिए । गण्डकी र प्रदेश २ मा काँग्रेस निकट गुरुङ र मिश्र प्रदेश प्रमुख बनेका छन् । यस्तै लुम्बिनीमा माओवादी निकट शेरचन र बागमतीमा नेपाल निकट शर्मा प्रदेश प्रमुख बनेका छन् ।

देउवाले नियुक्त गर्न बाँकी तीन जना प्रदेश प्रमुखमा माओवादी, एमाले समाजवादी र जसपाले एक एक प्रदेश प्रमुख पाउने सत्तारुढ गठबन्धनमा सहमति भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !