२६ बैशाख २०८१, बुधबार

शिक्षिकादेखि मन्त्रीसम्म थममाया थापा


Tham-maya-thapa

जन्म र पृष्ठभूमि

नवनियुक्त महिला तथा बालबालिका मन्त्री थममाया थापाको जन्म वि. सं. २०१५ सालमा म्याग्दीमा भएको हो । बुवा भारतीय सैनिक नरबहादुर थापा र आमा गजमती थापाकी कान्छी छोरीको रूपमा जन्मिएकी थापाको बाल्यकाल सामान्य नै बित्यो । छोराछोरीलाई पढाउनु हुन्न, त्यसमा पनि छोरीलाई शिक्षा दिनुहुन्न भन्ने संस्कार रहेको त्यो समयमा आफ्नै बुबाले बनाएको स्कुलमा पढ्ने अवसर पाएकी थिइन् । पछि उनले पढाउने पनि गरिन् । २०४० सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी पटक पटक सांसद बने पनि यस अगाडि मन्त्री भएकी थिइनन् । २०४५ सालमा जनबादी विवाह गरेकी उनी २०४८ सालमा प्रथमपटक म्याग्दीबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन ।

शिक्षा

थापा पोखराको पीएन क्याम्पसमा भर्ना भइन् । क्याम्पस प्रशासनले नै राजकाजको अभियोग लगाएको र खुलेर हिँड्न नसकेपछि फेरि भूमिगत भइन् र आफ्नो अध्ययन समेत पूरा गर्न पाइनन् ।

राजनीतिक यात्रा

विं.सं. २०३६ सालतिर बहुदल र निर्दलको विषयमा उनी बहुदलको पक्षमा लागेकै कारणले गर्दा राजाको विरोध गरेको भनेर उनलाई नराम्रो व्यवहार गरेपछि उनी शिक्षण पेसा नै छोडेर सदरमुकाम बसिन् । त्यसक्रममा उनलाई निर्घात कुटपिटसमेत भएको थियो । त्यसपछि भने उनी पूर्णरुपमा नै खुलेर राजनीतिमा होमिइन् । सदरमुकाम आएसँगै उनले माले पार्टीसँग सम्पर्क गरिन । उनले अनेमसंगको टोल कमिटीमा आबद्ध भएर राजनीतिमा प्रवेश गरिन् । २०४३ सालमा पञ्चायतको भण्डाफोर गर्ने र जनपक्ष प्रतिनिधि उठाउन लागिपरिन् । पछि उनी पोखराको पीएन क्याम्पसमा भर्ना भइन् र विद्यार्थी राजनीति सुरु गरिन् । स्ववियुको कोषाध्यक्ष भइन् । २०४६ सालको आन्दोलनपछि बहुदल आएपछि पुनः म्याग्दी गएर नेकपा मालेको पार्टी कार्यालय खोलेर आफैँ कार्यालय सचिव बनेर काम गरिन् ।

उनी २०४८ सालको निर्वाचनमा म्याग्दीबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् भने २०५६ सालमा राष्ट्रिय सभा सदस्य बनेकी थिइन् । २०६४ सालमा एमालेले उनलाई समानुपातिक सांसद बनाएको थियो । तर २०७० मा २०६४ मा एमालेले समानुपातिक सांसद बनेका कसैलाई पनि नदोहोर्यासउने निर्णय गरेपछि उनी बाहिरै परेकी थिइन् । यसपटक उनलाई एमालेले समानुपातिबाट सांसद बनाएको हो।
अखिल नेपाल महिला संघको दोस्रो, तेस्रो, पाँचौँ, छैटौँ सम्मेलनसम्म उनले कमिटीमा रहेर काम गर्दै आइन् ।

एमाले पोलिटब्युरो सदस्य समेत रहेकी थापामगर पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघकी महासचिव हुन्।

संघर्ष

पञ्चायतको विरोध र बहुदलको पक्ष लिएका कारण उनले निक्कै कष्ट सहनुप¥यो । शारीरिक यातना धेरै नै खेपेकी उनले भूमिगत जीवनसमेत बिताउनु परेको थियो । संघर्षमय राजनीतिक जीवन, तीतो अनुभव लिएर राजनीतिमा होमिँदै आएकी थापाले आफू आन्दोलनमै भएको समयमा दुई वर्षीय छोरा गुमाउनुपरेको थियो । आमाको उपचार गर्न नपाएर मृत्यु हुनु परेको क्षण तथा आफूलाई भएको कुटपिट जीवनकै संघर्षपूर्ण क्षण थियो ।

सामाजिक र राजनैतिक योजना

महिला हकहित र अधिकारको लागि आफ्नो जीवन समर्पित भएकोले यसकै लागि मरिमेट्ने उनको उद्देश्य छ । सडक बालबालिकाको भविष्य निर्माणको लागि योजना बनाउने, नीतिगत रुपमा विधान बनाउने, संविधानमा लेखिएका कुरामा कानुन बनाउने, महिला हिंसा, विकृति र विसंगतिको अन्त्यको लागि एनजीओ, आईएनजीओलाई पारदर्शी बनाउने बताउँछिन् । महिला, बालबालिका, ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, रोजगारीको लागि आफूले काम गर्ने उनको लक्ष्य रहेको छ । समाजमा रहेको अन्धविश्वास, छाउपडी अन्त्य, बालबालिका, ज्येष्ठ नागरिकले पाएको दुःख र उनीहरुकै लागि आफूले ठोस कदम चाल्ने उद्देश्य बताउँछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !