८ बैशाख २०८१, शनिबार

को हुन् अमेरिकाको ४६ औ राष्ट्रपतिमा निर्वाचित जो बाइडेन ?


जो बाइडेन

एजेन्सी, कार्तिक २२ । पृष्ठभूमि : संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा डेमोक्रैटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन् । बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् ।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो । चुनाव जित्नका लागि महत्त्वपूर्ण मानिएको पेन्सलभेनियाको मतपरिणाम आएसँगै बाइडेनले जितका लागि आवश्यक २७० इलेक्टोरल भोटको आँकडा पार गरेका हुन् ।

अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ । बाइडेनले कुल २७३ सिट निश्चित गरेर जित हासिल गरेका हुन् । बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए । पछिल्लो परिणाम अनुसार नेभेडा, जर्जिया, एरिजोनामा पनि बाइडेनकै अग्रता छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरेको छ । यो जितसँगै बाइडेन पछिल्ला ३ दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् ।

जन्म र पारिवारिक स्थिति

बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० मा भएको हो । उनकी पहिलो पत्नी नेलिया र नाओमीले कार दुर्घटनामा ज्यान गुमाएका थिए । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको दुर्घटनामा नेलिया र नाओमीको ज्यान गएको थियो भने २ जना छोरा बो र हन्टर घाइते भएका थिए ।

बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो । पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राख्ने गर्छन् । उक्त सहानुभूति आगामी दिनमा कायम हुन्छ कि हुँदैन भन्नेचाहिँ उनको कार्यशैलीमै भर पर्छ ।

राजनीतिक जीवन

जो बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटर भएका थिए ।

उनले ३३ वर्षअघि सन् १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशीका रूपमा आफ्नो अभियान चलाएका थिए । त्यतिबेला बलियो दाबेदार ठानिएका उनी बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछि अभियान त्याग्न बाध्य भएका थिए ।

बाइडेनमा विदेश नीतिसम्बन्धी दशकौं लामो अनुभव छ । कूटनीतिक अनुभव बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी जटिल विषय उनका लागि बढी हानिकारक हुन सक्ने देखिन्छ ।

यसअघि सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष समेत रहेका बाइडेनले ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतासँग भेटेको दाबी गर्छन् । यसले मतदातालाई आश्वस्त पार्न सक्ने भए पनि विदेश मामिलाका विभिन्न मुद्दामा उनले विगतमा गरेका मतदानले कस्तो असर पार्ला भन्न सकिँदैन ।

उनले सन् १९९१ मा पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा इराक अतिक्रमणको समर्थन गरेका थिए । पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गरेका थिए । अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । उक्त कारबाहीमा लादेन मारिएका थिए ।

यो पनि पढ्नुहोस्
जो बाइडेन अमेरिकाको ४६ औ राष्ट्रपतिमा निर्वाचित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !