२१ बैशाख २०८१, शुक्रबार

यस्तो छ हेर्नुहोस् पूर्वाफाल्गुनी नक्षत्रको जन्मफल


पूर्वाफाल्गुनी नक्षत्र

पूर्वाफाल्गुनी नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – मो, टा, टि, टु । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको पूर्वाफाल्गुनी नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :

१. यिनीहरू इमानदार, स्वाभिमानी र तेज दिमाग भएका व्यक्तित्व हुन्छन् । उच्च शिक्षित र बुद्धिमान् पनि हुन्छन् । प्राचीन र गुप्त विद्याप्रति रूचि रहेको देखिन्छ ।

२. सामाजिक रूपले सम्मानजनक पदमा आसीन हुनपुग्छन् । आफ्नो आम्दानीको स्रोत बलियो बनाई जीवन शैली सम्पन्न तुल्याउन सक्दछन् ।

३. उदार, विचारवान् र कर्तव्यबद्ध रहने गर्दछन् । आफ्नो क्रियाकलापद्वारा सबैमा अमीट छाप पार्न सक्दछन् । सांसारिक सुखप्रति दह्रो झुकाव रहने गर्दछ ।

४. विपरीतलिङ्गीको अधीनमा हुन्छन् । त्यस्तै सङ्गीत, कला र साहित्यको जानकार हुन्छन् । विषयप्रति बाल्यावस्थादेखि नै झुकाव हुनु यिनको विशेषता हो ।

५. इमानदार हुन्छन् र नैतिकता एवं सत्यताको बाटोमा अघि बढी जीवनयात्रा पूरा गर्छन् । जीवनमा प्रेमभावना र ममताको स्थान सर्वोपरि हुन्छ, प्रेमलाई आफ्नो जीवनको आधार मान्दछन् ।

६. मारपिट र झैझगडाबाट टाढा बस्न मन पराउँछन् । शान्त रहने र शान्तिपूर्ण वातावरणमा बस्ने रुचि हुन्छ, कलह र विवाद भए वार्ताका माध्यमबाट समाधान निकाल्ने प्रयास गर्छन् । हुन त शान्त स्वभावका हुन्छन्, तर व्यक्तिगत मानसम्मानमा आघात पुग्यो भने प्रतिद्वन्द्वीलाई परास्त तुल्याउन पछि पर्दैनन् र यस्तो अवस्थामा लाभहानिको ख्याल गर्दैनन् ।

७. करकुटुम्ब, मित्रवर्ग र सज्जनको स्वागत-सत्कार र सम्मान गर्छन् । बोलीवचन मीठो हुन्छ र आफ्नो जिम्मेबारी निर्वाह गर्न जान्दछन् ।

८. यिनले नोकरी गरेमा वा राजनैतिक क्षेत्रमा प्रवेश गरेमा राम्रो सफलता पाउन सक्दछन् । तर स्वतन्त्र रहन चाहन्छन् र स्वतन्त्रताका पक्षपाती हुन्छन्, कसैको दबाव वा अधीनमा बसेर काम गर्न रुचि राख्दैनन् ।

९. सफासुग्घर र सौन्दर्यको चाहना गर्ने व्यक्ति हुन्छन्, परिणामतः व्यवस्थापन कौशलमा पारङ्गत हुन्छन् । दैनिकीमा प्रयोगमा आइरहने वस्तुहरू जस्तै लुगाफाटा, कापीकलम, पुस्तक तथा अन्य सामान एवं कोठाचोटा र घरलाई पनि व्यवस्थित ढंगले सजाउने गर्छन् ।

१०. मित्र बनाउन निपुण हुन्छन् र मित्रताको परिधि पनि ठूलो हुन्छ । राम्रोसँग धनार्जन गर्छन् र सबै किसिमका सुखसुविधाको उपभोग गर्छन् । तर आफ्नो प्रशंसा सुन्न मन लालायित हुन्छ । यिनीहरूले अझ उन्नति गर्न लालसा, तिर्सना, चञ्चलता र अहं भावलाई त्याग्नु राम्रो हुन्छ ।

११. यस नक्षत्रका देवता भग (धन तथा ऐश्वर्यका देवता) हुन् । यस नक्षत्रको मुख्य ग्रह शुक्र हो । यो सिंह राशीअन्तर्गतको नक्षत्र भएकाले यसका राशीस्वामी सूर्य हुन आउँछन् । सूर्य र शुक्रको मित्रता नभएकाले यस नक्षत्रका जातकको जीवनपद्धति सङ्घर्षशील हुन्छ ।

१२. पलासको रुखलाई पूर्वफाल्गुनी नक्षत्रको प्रतीक मानिन्छ र पूर्वफाल्गुनी नक्षत्रमा जन्म लिने मान्छेले पलासको बोटको पूजा गर्ने मान्यता छ । त्यस्तै यस नक्षत्रका जातकले पलासको बोटको संरक्षण गर्ने व रोपेर स्याहारसम्भार गर्ने हो भने ग्रहदोष नाश हुने मान्यता पनि छ ।

शुभ दिन !

ज्यो. खगेन्द्र सुवेदी
महर्षि भारद्वाज ज्योतिष सेवा केन्द्र,
इटहरी, सुनसरी, नेपाल
९८६५८०७३४३/९८१७९००७५०

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !