१४ बैशाख २०८१, शुक्रबार

यस्तो हुन्छ मेष राशिको समग्र जीवन


मेष राशि

मेष राशिमा तीन वटा नक्षत्र (अश्विनी, भरिणी र कृतिका) र नौ वटा अक्षर हुन्छन् – चु, चे, चो, ला, लि, लु, ले, लो, अ । नक्षत्रअनुसार मेष राशिका जातकको बेग्लाबेग्लै स्वभाव हुन्छ । मेष राशिमा जन्म भएका व्यक्तिको पुरुषको राशिस्वामी भौम, चर संज्ञक, पित्त प्रकृति, पूर्व दिशाको स्वामी र क्षेत्रीय वर्ण हुन्छ ।

मेष राशिको प्रतीक चिह्न भेडो हुन्छ । यस राशिको राशि स्वामी मंगल ग्रह हो । यो राशिचक्रको सबै भन्दा पहिलो राशि हो । धातु संज्ञक यो राशि चर राशि हो । मेष राशिका जातक सामान्यतया आकर्षक हुने गर्दछन् । यिनीहरुको व्यवहार कठोर र रुखो हुन्छ । सामान्यतया रुपरंग सुन्दर नै देखिन्छ ।

यिनीहरुलाई फकाएर वा सम्मान गरेरमात्र काममा लिन सकिन्छ, कसैको दबाबमा काम गर्न सक्दैनन् । यिनीहरुको चरित्र तथा आचरण सफा र आदर्शवादी हुन्छ, बहुमुखी प्रतिभाका स्वामी हुन्छन् । समाजमा राम्रो स्थान हासिल गरेका हुन्छन् र मानसम्मान प्राप्त गर्दछन् । हतारमा निर्णय लिने र फुर्सतमा पछुतो मान्ने गर्दछन् तर आफूले जिम्मा लिएको र थालेको काम नसिद्ध्याई विश्राम गर्दैनन् ।

त्याग र वैराग्यको भावना तुरुन्त सिर्जना हुन्छ र यदाकदा डिप्रेसनको सिकार पनि बन्न पुग्छन्, तर यिनमा काम, क्रोध, लोभ, मोह, तिर्सना आदि अवगुण पाइँदैन । अरुलाई सरसहयोग गर्न पाउँदा यिनीहरु प्रसन्न रहन्छन् । कल्पनाशक्ति प्रबल हुन्छ त्यसैले अधिकांश समय चिन्तन र सोचविचारमा बित्ने गर्दछ । आफ्नो जस्तो स्वभाव छ, यिनीहरु अरुलाई पनि त्यस्तै ठान्दछन् र त्यस्तै अपेक्षा गर्नाले सँगीसाथीबाट ठगिने सम्भावना पनि उत्तिकै हुन्छ ।

अग्नि तत्व भएका कारणले यिनीहरुलाई छिट्टै रिस उठ्छ र चुनौती, वादविवाद, झैझगडा र प्रतिस्पर्धासँग यिनीहरु कहिल्यै डराउँदैनन् । कुनै पनि चुनौतीलाई सामना गर्न हरदम तैयार रहने गर्दछन् । कसैले आफूलाई अपमान वा तिरस्कार गरेको छ भने यिनीहरु हत्तपत्त उक्त घटना बिर्संदैनन् र अवसर पाए भने प्रतिशोध साँध्न पनि बेर लाउँदैनन् । आफ्नो जिद्दीपन र निर्णयमा अडिनु यिनीहरुको विशेषता हो । त्यस्तै मेष राशिका जातकको हृदयमा एउटा कलाकार र प्रतिभा लुकेको हुन्छ ।

यिनीहरु आफूलाई सर्वोपरि ठान्दछन् र जुनसुकै काम गर्न पनि सक्षम हुन्छन् । यिनीहरु आफ्नो इच्छाअनुकूल अरुलाई हिंडाउन चाहन्छन्, त्यसैले यिनीहरुले कहिल्यै जस पाउँदैनन् र शत्रुको संख्या बढ्दै जाने गर्दछ । एउटै कामलाइै बारम्बार दोहोर्याइरहन यिनलाई मन पर्दैन । त्यस्तै एउटै पेसा वा व्यवसाय अथवा एकै ठाउँमा लामो समयसम्म यिनीहरु अडिन सक्दैनन् ।

सामान्यतया राम्रो र कुशल नेतृत्व क्षमता भएका, थोरै बोल्ने, हठी, स्वाभिमानी, क्रोधी, प्रेम र प्रणयको भावना व्यक्त गर्न नचाहने, नोकरचाकर र विपरीतलिंगीबाट सतर्क रहने, कर्मठ, प्रतिभाशाली, विज्ञान र प्रविधिको जानकार, यान्त्रिक कार्यमा दक्ष व्यक्तिको मेष राशि हुन्छ ।
 खगेन्द्र सुवेदी महर्षि भारद्वाज ज्योतिष केन्द्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !