२२ बैशाख २०८१, शनिबार

पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या


पोखरा खानेपानीको मुहान

अन्नपूर्ण, कास्की । पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ । मर्दीखोला पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत हो । खोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानी वितरणमा समस्या परेको छ ।

नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले खानेपानी पुर्याउन गाह्रो परेको सूचना जारी गरिसकेको छ । खडेरीका कारण हाल भइरहेको पानी उत्पादनमा कमी आएकाले पोखरा महानगरभित्र कतिपय स्थानमा पानी वितरणमा समस्या आएको सूचनामार्फत जानकारी दिइएको छ । हाल उत्पादन भइरहेको पानी आपूर्ति नभएका क्षेत्रमा आलोपालो गरी वितरणका लागि संस्थान प्रयासरत रहेकाले अनावश्यक पानी खर्च नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

पोखरामा ल्याउने पानीको सतह घटेको संस्थानका वितरण प्रमुख सबइञ्जीनियर लक्ष्मण पाण्डेले जानकारी दिए । “गर्मी सुरु भयो, खोलाको पानी ८० प्रतिशत घटेको छ”, उनले भने, “हाम्रो पानीको स्रोत भनेको ८० प्रतिशत मर्दी नै हो । त्यसपछि भोटीखोला, कालीखोला, बालधारा र बोरिङ हो । यी स्रोतमा पानी घटेका कारण हामीलाई समस्या भएको हो ।”

खानेपानीको समस्याबारे जानकारी गराउन बिहीबार संस्थानको कार्यालय नै पुग्नुभएका पोखरा महानगरपालिका–१३ का भीमबहादुर गुरुङ पनि हैरानीमा छन् । “मैले घर बनाएको पाँच वर्ष भयो, पानीको समस्या त पहिलादेखि नै हो । मैले महिनामा एक हजार लिटर पानी ट्याङ्करबाट मगाउँथे”, उनले भने, “पछिल्लो दुई हप्तादेखि पानी नै आएको छैन, अहिले त झनै समस्या परेको छ ।”

खानेपानीको समस्या समाधान गरिदिन भन्दै दिनहुँ सयौँ सेवाग्राहीको फोन आउने गरेको संस्थानको वितरण शाखाका कर्मचारी राजेश थापाले बताउनुभयो । घरमा पानी नआएको गुनासोसहित दैनिक तीन सयभन्दा बढी फोन आउने गरेको उनले सुनाए । “खानेपानीको समस्या पर्यो यो भन्दै पहिला पनि समस्या नआएको होइन, तर पछिल्ला दिनमा अधिक फोन आउने गरेको छ”, उनले भने ।

मुहानमा पानीको सतह घट्नु एउटा कारण भए पनि खानेपानीको नयाँ प्रोजेक्ट परीक्षणको कामले पनि खानेपानी वितरणमा समस्या भएको सबइञ्जीनियर पाण्डेले बताए । “हामी सात–आठ दिनअघि सूचना जारी गरेरै पोखरा आउने १६ र २० इन्चको पाइप पूर्णरूपमा बन्द गरेका थियौँ”, उनले भने, “किनभने जापान सहयोग नियोग (जाइका)ले बनाएको ग्रिड च्याम्बर र ट्याङ्कीमा पानी जम्मा गर्न हाम्रो पाइपको कनेक्सन टुटाएर त्यता जोडिएको थियो ।” सोही कामका लागि सोमबार पुनः पानी पाइप बन्द गरिने उनले बताए ।

सोमबारदेखि पनि पानी वितरणमा समस्या हुने भएकाले उपभोक्तालाई अनावश्यक पानी खर्च नगर्न आग्रह गरिएको छ । आफूलाई जस्तै पानीको महत्व अरुलाई पनि छ भन्ने महसुस गरी अनावश्यकरूपमा धारा खुला नराखीदिन, मोटर प्रयोग नगरिदिन पानीको सही सदुपयोग गरिदिन संस्थानले आग्रह गरेको छ ।

हाल पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक रहेको कार्यालय प्रमुख आशिष कार्कीले जानकारी दिए । जसमा अहिले दैनिक साढे पाँच करोड लिटर आपूर्ति भइरहेको छ । पोखरामा संस्थानका छवटा खानेपानी ट्याङ्की छन् । जसमध्ये विन्ध्यवासिनीमा ४० लाख लिटर, माटेपानीमा साढे चार लाख लिटर, बालधारामा एक लाख २० हजार लिटर, खहरेमा एक लाख लिटर क्षमताका ट्याङ्की छन् । यीबाहेक अमला बिसौनी र लभ्लीडाँडाको ट्याङ्कीबाट पनि पानी वितरण भइरहेको छ । पोखरामा संस्थानबाट करिब ४८ हजार धारा जडान भएका छन् ।

पोखरामा बढ्दो सहरीकरणसँगै खानेपानीको समस्या रहेको प्रमुख कार्कीको भनाइ छ । उनका अनुसार पोखरामा वार्षिक तीन हजार नयाँ धारा जडान हुने गरेका छन् । नयाँ धारा जडान आधारमा हरेक वर्ष थप ३० लाख लिटर पानी आवश्यक पर्ने उनले बताए । अबको पाँच वर्षमा अहिले बनिरहेको जाइकाको आयोजना सकिएपछि पनि खानेपानी पुर्यायाउन समस्या पर्ने कार्कीको आंकलन छ ।

भविष्यमा हुनसक्ने खानेपानीको समस्याका विषयमा अहिले नै सोच्नुपर्ने प्रमुख कार्कीले बताए । खानेपानीको समस्या हल गर्न यही वर्ष पोखरा–७ र १४ मा थप दुई नयाँ बोरिङको काम भइरहेको छ । पोखरामा अहिले आठ ठाउँमा बोरिङबाट पनि पानी वितरण हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !