१४ बैशाख २०८१, शुक्रबार

मोरङमा ‘फुड ट्रक’ मा खाना बेचेर मनग्य आम्दानी


फुड ट्रक

टङ्कीसिनवारी । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेका छन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरे । ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन् ।

विश्वकर्मा र ग्रान्डाले फुड ट्रक सञ्चालन गरिरहेका छन् । फुड ट्रक भनेको चार चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो । विराटनगर–४ को कञ्चनबारीको सडक छेउमा यी दम्पतीले दिनको ३ बजेदेखि बेलुकीको ७ बजेसम्म फुड ट्रक चलाउने गरेका छन् । विराटनगरमा यो एकमात्र फुड ट्रक हो । फुड ट्रकबाट दैनिक रु १५ देखि २० हजारसम्मको व्यापार हुने गरेको छ ।

विसं २०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई गएका थिए । त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो । २०७५ मा दुवै स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गरे ।

विसं २०७६ चैत ११ गतेदेखि देशमा कोरोनाका कारण लकडाउन लागेपछि विश्वकर्मा र ग्रान्डालाई पनि आर्थिक समस्या पर्यो । लकडाउन खुल्नेबित्तिकै विश्वकर्माले पुनः वैदेशिक रोजगारमा जाने तयारी गर्न थाले । तर ग्रान्डाले नेपालमै प्रशस्त सम्भावना देख्नुभयो र आफ्ना श्रीमान्लाई नेपालमा नै व्यवसाय गर्न प्रेरित गरे ।

चार चक्के गाडीमा विभिन्न खानेकुराको परिकार बनाएर घुम्ती होटलको व्यवसाय चलाउनु विदेशमा सामान्य हो । क्याटेरिङमा काम गरेका विश्वकर्मालाई खाना बनाउने ज्ञान थियो । ग्रान्डाको सल्लाह र सुझावमा विश्वकर्माले गाडी किने र होटलको आकार दिए । यसमा उहाँको रु २२ लाख खर्च भयो । गाडीवाला होटलले हाल दैनिक रु २० हजारसम्मको कारोबार गर्ने गरेको छ । शान्त र जति पनि अवसर रहेको नेपाल छाड्न मनै नलागेको ग्रान्डाले बताए ।

उनले वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि नेपालमै प्रशस्त अवसर रहेको जनाए । तीन महिनाअघि मात्र नेपाली नागरिकता पाउनुभएकी ग्रान्डा आफ्ना श्रीमान् विश्वकर्मासँग अङ्ग्रेजीमा वार्तालाप गर्नुहुन्छ भने ग्राहकसँग मज्जाले नेपालीमा कुराकानी गरे ।

विराटनगर–४ स्थित नोबेल मेडिकल कलेजका चिकित्सक डा सूर्यप्रकाश सोनीले आफू फुड ट्रकको नियमित ग्राहक भएको बताउनुभयो । उहाँले फिलिपिन्सकी महिलाको मेहेनत देखेर आफू दङ्ग हुने गरेको बताए । विराटनगर–२ की रेणुका श्रेष्ठले गाडीमा पकाएको खाना स्वादिष्ट हुने गरेको तर्क गरे ।

उनले फिलिपिन्सबाट आएकी ग्रान्डाबाट विदेश जान खोज्ने युवायुवतीले धेरै कुरा सिक्न सक्ने बताए । जाँगर भए नेपालमा प्रशस्त आम्दानी गर्न सकिने भन्ने उदाहरण ग्रान्डाले प्रस्तुत गर्नुभएको श्रेष्ठले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !