८ जेष्ठ २०८१, मंगलबार

नेता गिरिको आश्रम सुनसान, पैतृक घर जीर्ण


प्रदीप गिरीको घर बस्तीपुर सिराहा

लहान । दिउँसो १ बजेको टन्टलापुर घामलाई छिचोल्दै सिरहाको बस्तीपुर पुग्दा गाउँमा सन्नाटा छाएको थियो । लहान बजारदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको बस्तीपुर काँग्रेस नेता प्रदीप गिरिको शोकमा डुबेको थियो । कोही राम्ररी बोल्न सक्ने अवस्थामा थिएनन । उनीहरुका आँखा ओभाना थिएनन् ।

समाजवादी चिन्तक स्व गिरिको पुख्र्याैली घर पुग्दाँ ढोका बन्द थियो । उनको पैतृक घर जीर्ण अवस्थामा थियो । उक्त पक्की घर गिरिका बुवा स्व मित्रलाल गिरिले बनाएका छन् । घरको माथिल्लो भागमा बिरुवासमेत उम्रिएका छन् । सबै आफन्त राजधानी काठमाडौँ र विराटनगरमा बस्न थालेपछि पैतृक घर जीर्ण बनेको गाउँलेले बताए ।

“दाजुभाईहरु धेरै पहिलादेखि नै बाहिरै बस्न थाल्नुभएको छ”, स्थानीय चेतबहादुर भुजेलले भन्नुभयो, “घरको स्याहार गर्ने कोही हुनुहुन्न, उनका आफन्तहरुले पनि धेरै पहिला नै गाउँ छोडिसकेका छन् ।” पुख्र्यौैली घरमा स्व. गिरिकी बहिनी डा मन्जुला गिरि कहिले काँही आएर बस्ने गरेको उनले बताए । “घरको स्याहार हुन सकेको छैन”, भुजेलले भने ।

पञ्चायतकालमा गाउँको पञ्चायत गर्न स्व. गिरिका बुवा मित्रलालले बनाएको ऐतिहासिक कचहरी घर संरक्षणको पर्खाइमा छ । स्व. गिरिले पैतृक घर छाडेर गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएको थियो । कुनै बेला गाउँका नेता कार्यकर्ताको बाक्लै उपस्थिति रहने उक्त आश्रममा आज दिउँसो पुग्दा सुनसान थियो ।

सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित स्व गिरिले शान्त रुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै उक्त आश्रम बनाएको स्थानीयले बताए । मूल व्यक्ति नै सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएकाहरु शोकमा डुबेका थिए । शुभेच्छुक तथा नेता कार्यकर्ता स्व गिरिलाई श्रद्धाञ्जली दिन राजधानीतर्फ हिँडेका आश्रममा बस्दै आएका दीप परियारले बताए ।

“प्रदीप सर यहाँ हुँदा दिनहुँ भीड लाग्थ्यो । उहाँको निधनको खबर सुनेपछि यहाँका धेरै व्यक्ति गए राति नै राजधानी गइसक्नुभयो”, उनले भने, “उहाँ आएको खबर पाउने बित्तिकै गाउँले तथा विभिन्न पार्टीका नेता कार्यकर्ता भेट्न आश्रममा आउनुहुन्थ्यो ।” “अब हाम्रो बिजोग हुने भयो, हामी अभिभावक विहीन भएका छौँ”, आश्रमको रेखदेख गर्दै आउनुभएका रामकृष्ण चौधरीले भने, “पहिला भीडभाड बाक्लै हुन्थ्यो, तर प्रदीप दाई बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि आश्रममा आउनै छाडे ।”

करिब ६ बिघा क्षेत्रफलमा फैलिएको उक्त आश्रममा स्व गिरिले थुप्रै दलित तथा सुकुम्वासीलाई जग्गा दिएर बसाउनुभएको छ । इट्टाको पर्खाल र जस्ताले छाएको उक्त आश्रममा बसेर नै स्व गिरिले राजनीतिक र सामाजिक गतिविधि गर्दै आएको चौधरीले बताए । “प्रदीप दाईले आश्रमभित्रै बैठक कक्ष बनाउनुभएको छ । अब उहाँको निधनपछि आश्रमको भविष्य के हुन्छ भन्ने अन्यौलता बढेको छ ।”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !