२२ बैशाख २०८१, शनिबार

भ्याक्सिन फोबिया र भ्याक्सिन मेनिया दुवै खतरनाक प्रवृति हुन् – डा. रवीन्द्र पाण्डे


भ्याक्सिन फोबिया र भ्याक्सिन मेनिया

हामी कहाँ उपलब्ध कोभिड खोप ३ फरक फरक टेक्नोलोजीले बनाएका खोप हुन् ।

१. भाइरल भेक्टर बर्न – कोभिशिल्ड/एस्ट्राजेनेका, जान्सेन (जोनसन)
२. होल भाइरस टेक्नोलोजी – भेरोसिल
३. एम आरएनए टेक्नोलोजी – फाइजर, मोडेर्ना
भारतमा बनेको खोप कोभ्याक्सिन (त्यो नेपालमा आएको छैन) पनि होल भाइरस टेक्नोलोजीबाट बनेको खोप हो ।

बुस्टर डोज लगाउँदा पहिलो प्राथमिकता पुरानो खोपको निरन्तरता नै हो । सरकारले पहिले यहि सूचना निकालेको थियो ।
पछि निरन्तरतामा क्रमभंगता गर्ने अर्को सुचना निकाल्यो र भन्यो – पहिले भेरोसिल, फाइजर, मोडेर्ना जे लगाएको भएपनि बुस्टर डोज कोभिशिल्ड/एस्ट्राजेनेकाको लगाउनू । प्रष्ट छ, भेरोसिलको अभाव वा खोप हराएपछि ( ? ) यो निर्णय आएको हो । यो ठूलो बिडम्बनापूर्ण छ ।

मिक्स्म्याचबारे-
एस्ट्राजेनेका/कोभिशिल्ड सबैभन्दा पहिले बजारमा आएको हो । तसर्थ पहिलो डोज बिकसित देशमा पनि त्यहि लगाइयो । पछि फाइजर र मोडेर्ना आएपछि दोस्रो र बुस्टर डोज फाइजर र मोडेर्ना लगाउने निर्णय भयो किनकि ती खोप बढी प्रभावकारी, बढी सुरक्षित र बिकसित देशको लगानीमा उत्पादन भएका थिए ।
मिक्स्म्याच गर्दा फाइजर/मोडेर्नाबाट एस्ट्राजेनेका, भेरोसिलतर्फ उनीहरु फर्किएका छैनन् । उनीहरुलाई अन्य बुस्टर डोजको लागि समेत फाइजर र मोडेर्नाको ग्यारेन्टी छ ।

हामीले के गर्नुपर्थ्यो ?

१. पुरानो खोपको निरन्तरताको लागि चीनबाट थप भेरोसिल खरिद गरेर मात्र बुस्टर डोज दिने ।

२. एकै टेक्नोलोजी अनुसारको खोप दिने जस्तै भेरोसिल लगाएका व्यक्तिलाई त्यहि टेक्नोलोजीको कोभ्याक्सिन किनेर लगाइदिने, भाइरल भेक्टर बर्न खोप लगाएका व्यक्तिलाई एस्ट्रेजेनेका वा जान्सेनमध्येबाट लगाइदिने, एमआरएनए खोप (मोडेर्ना र फाइजर) लगाएका व्यक्तिलाई उपलब्धता अनुसार फाइजर वा मोडेर्नामध्ये कुनै एउटा लगाइदिने ।

३. मिक्स्म्याच गर्ने हो भने र आगामी बुस्टर डोजको प्रत्याभूति हुने हो भने बिल्कुल नयाँ प्रविधिका बढी सुरक्षित र प्रभावकारी एमआरएनए फाइजर र मोडेर्नामध्ये कुनै लगाइदिने ।

WHO ले के भन्छ ?

WHO का अनुसार जुन खोप लगाएको हो त्यहि उत्तम हुन्छ । मिक्स र म्याचलाई WHO ले नीतिगत सल्लाह नदिएको स्पष्ट पारेको छ । तर मृत्यु र अस्पताल जानबाट रोक्नको लागि फ्रन्टलाइनर वा ६० बर्ष कटेका दीर्घरोगी/एचआईभीलगायत इम्युनोकम्प्रोमाइज्ड रोग भएका व्यक्तिलाई जीवन रक्षार्थ मिक्स्म्याच दिन सकिन्छ, उहि खोप उपलब्ध नभएको अवस्थामा भनेको छ ।

गुगल गरेर वा प्रायोजित रिसर्च पेपर पढेर त्यसैलाई अकाट्य ठान्ने बुद्धिजीवीले आफ्नो ज्ञान, विज्ञान र बिबेक प्रयोग गरेर आम नागरिकलाई सुचित गर्नुको साटो अनुवादक बन्ने होडबाजी छ । बुद्धिजीवीको भूमिका प्रतिपक्षीको जस्तो हुनुपर्छ । केहि गलत हुँदैछ भने त्यसलाई उजागर गर्नु पर्दछ, रचनात्मक सल्लाह दिनुपर्दछ । सत्ताको प्रिय बन्न भजन नै काफि हुन्छ । खोपको अभाव भएको र महामारीको कडा लहर फैलिएको अवस्थामा अर्को क्याटागोरीको खोप प्रभावकारी र सुरक्षित छ भनेर तद्तद देशका जनतालाई कन्भिन्स गर्न वायस्ड रिसर्च गराउने प्रचलन पनि हामीले ख्याल गर्नुपर्दछ ।

खोप द्वन्दको चपेटामा हामी

खोपमा ब्यापार मात्र हैन, राजनीति पनि चर्को छ । चिनियाँ खोपको युरोप/अमेरिका/अष्ट्रेलियाले मान्यता नदिने, चीनले उनीहरुको खोपको मान्यता नदिने, चिनियाँ खोप लगाएका ठाउँमा अमेरिकाले तेस्रो र चौथो मात्राको लागि आफ्नो खोप पठाइदिने लगायतका कामहरु खोपमा समेत आफुसंग आश्रित होउन् भन्ने भन्ने मनसायले पनि प्रेरित छन् ।

त्यस्तै खोप कम्पनीको ब्यापार अझ चर्को छ । तथाकथित अनुसन्धान गराएर ४-४ महिनामा, ६-६ महिनामा बुस्टर डोज चाहिन्छ भनेर ऋण दिलाउदै खोप बेच्दै जाने उनीहरुको रणनीति छ । दर्जनौं देशमा चौथो डोज लगाइसके । अब पाँचौं र छैठौं पनि लगाउने छन् । हामी त्यो राजनीति र व्यापारको चक्रमा फस्नु हुँदैन । मिसन र कमिसनको चक्र हामीले बुझ्दैनौं ।

हामीले खोपमा निरन्तरता र हाम्रै अनुसन्धानबाट प्राप्त रिपोर्ट अनुसार मात्र बुस्टर डोज दिनुपर्दछ । मलाइ लाग्छ, बुस्टर डोज बर्षबर्ष दिनमा दिंदा हुन्छ । स्मरण होस्, पूर्ण मात्रा खोप वा संक्रमणले एन्टिबोडीको मात्रा कम देखिएपनि मेमोरी सेलले कोरोना भाइरसलाई चिनेको हुन्छ । जब संक्रमण हुन्छ, उसले ती बिरुद्ध एन्टिबोडी उत्पादन गर्दछ ।

तसर्थ पुरा मात्रा खोप लगाएपछि खोप केन्द्र चाहार्नु सबैलाई जरुरी छैन । हामी ७५ % जनता थाहा पाएर वा नपाएर पनि संक्रमित भएका छौं । त्यो न्याचुरल एन्टिबोडी निकै सुरक्षित र प्रभावकारी हुन्छ । पुरा मात्रा खोप तथा जनस्वास्थ्यका मापदण्डको पालना नै हामीलाई बचाउन पर्याप्त छ । भ्याक्सिन फोबिया र भ्याक्सिन म्यानिया दुवै अतिबादी सोंच हुन् ।

अन्त्यमा आफ्नै कुरा : मैले जुन खोप लगाएको छु, हरेक १/१ बर्षमा त्यहि खोप लगाउनेछु । मिस्म्याच गर्ने छैन र पाइयो भन्दैमा संगिनी सुई लगाएझै ३-६ महिनामा लगाउने छैन ।

(यो आलेख मेरो नितान्त निजी बिचार हो । बिचार ज्ञान, बिज्ञान र प्रज्ञानबाट उत्पन्न हुन्छ ।)

*डा. रवीन्द्र पाण्डे साहित्यकार, जनस्वास्थ्य बिज्ञ तथा शोधकर्ता हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !