२० बैशाख २०८१, बिहिबार

मिथिलाको संस्कृति झिझिया नाचमा भित्रिएको अश्लीलता र विकृति


झिझिया नाच

दशैंको अवसरमा चोहर्वा नयाँ चौकमा आयोजित झिझिया नाच हेर्न गएको गोलबजार नगरपालिका-८ भाइजी टोलको १७ वर्षिय शत्रुधन महतोको इनारमा डुबिरहेको अवस्थामा लाश भेटेको घटनाले सारै दुःखी तुल्याएको छ र मनमा कैयौ प्रश्न पनि उब्जाएको छ र यसप्रति गहिरो रूपले सोच्ने बेला पनि आएको छ ।

मिथिला संस्कृति आफैंमा फरक विशिष्ट र धनी हुन् जसको आफ्नै पहिचान र अस्तित्व छ । तर विगत केही वर्षदेखि विभिन्न चाडपर्वमा आयोजना हुने सांस्कृतिक कार्यक्रमले अश्लीलताको विकृति फैलाई प्रत्यक्ष देख्न सकिन्छ ।

प्रसंग दशैँमा आयोजना हुने मधेश तिरको अति लोकप्रिय लोक नृत्य झिझिया नाचमा हाल विभिन्न भोजपुरी तथा मैथिली अश्लिल शब्दहरू प्रयोग गरी बनाइएको गीतहरूमा नृत्य एकदम साधारण जस्तो भएको छ तर यसले हाम्रो समाजकाे युवा पुस्तालाई कतातिर लाँदैछ र यसले हाम्रो समाजमा कस्ताे सन्देश पु-याउँछ भन्ने सोच्ने बेला आएको छ ।

हाल टिकटकमा अश्लीलता फैला सँगै यसको असर ग्रामीण क्षेत्रतिर पनि प्रत्यक्ष रूपमा परेको देखिन्छ । जसले समाजमा पनि अश्लीलता फैलाउन शुरू गरेका छन् । टिकटक प्लेटफार्म देखिने अधिकांश युवायुवतीहरु विभिन्न गाउँमा अर्केष्ट्रा पार्टी खोलेर हाम्रो गाउँ समाजका युवायुवतीहरुले अर्केष्ट्रा पार्टी खोलेका छन् ।भर्खरै दशैँमा आयोजित विभिन्न ठाउँको झिझिया नृत्य कार्यक्रममा विकृतिको प्रत्यक्ष उदाहरण देखियो ।

सानोतिनो पुरस्कारको लोभमा अधिकांश अभिभावकहरुले आफ्नै घरको छोरी चेलीलाई उक्त नृत्यमा सामेल गराई नाच्न उत्प्रेरित गरेको देखियो र उक्त झिझिया नृत्य त्यतिमा मात्र सीमित नभई हाल स्टेज शोको रुपमा परिणत भएसंगै झिझिया नृत्यलाई छेउ लगाएर विभिन्न अश्लिल भोजपुरी तथा मैथिली गीतहरूमा अंग प्रदर्शन गरी नृत्य गर्दा उतेजित भएको भीडमा कैयौ घटनाहरूले प्रमाणित गरेको देखिन्छ जुन सर्वथा अनुचित मात्र होइन कि एउटा प्रत्यक्ष वेश्यावृत्ति हो ।

उक्त कार्यक्रमहरुमा यसै समाजका अगुवा अभिभावक वुद्धिजीवी, पत्रकार साथै सुरक्षार्थ खटिएका प्रहरी समेत उपस्थित भएको खण्डमा उक्त कार्यलाई रोक्न कसैले किन कोशिस गरेको छैन । चाडपर्व र संस्कृति को नाउँमा हाम्रो समाजको गति कतातिर जाँदैछ र यी युवायुवतीहरुले भविष्य यसबाट कति सार्थक छ ।

सबै जिम्मेवार व्यक्तिहरू लगायत स्थानीय प्रशासन र निकायहरुले गहिरो रुपमा सोच विचार गरी यथाशीघ्र रोक्ने प्रयास गर्नु नैं उचित होला जस्तो लाग्छ । अन्यथा यस्तो छाडा संस्कृतिले यो भन्दा पनि बढी घटनाहरू नघट्ला भनी भन्न सकिन्न। एकपल्ट अवश्य विचार गरौं है त…..!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !