२० कार्तिक २०८१, मंगलबार

मित्र राष्ट्रहरूसँगको सम्बन्धमा विस्तार गर्दा दण्डित नेपाली शासक, भारदार र नेताहरू


केशव प्रसाद भट्टराई

१. काजी भीम मल्ल सन्दर्भ

काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लको शासनकालमा काजी भीम मल्लले काठमाडौँको सीमाना सिन्धुपाल्चोक – दोलखा हुँदै तिब्बतको कुतीसम्म विस्तार गरे ।

पूर्व लिम्बुवानसम्म काठमाडौँ राज्यको सीमाना पुर्याए र त्यहाँबाट पूर्वी तिब्बतसँग व्यापार गर्ने नाका चलाए ।

नुवाकोट, रसुवा हुँदै केरुङ्गसम्म पनि उनले काठमाडौँको राज्य पुर्याएका थिए ।

नेपाली व्यापारीहरूलाई तिब्बतमा ठूलो छुट र सहुलियत प्राप्त हुने सन्धि समेत गरे ।

तर तिब्बतबाट फर्किएर सोझै राजासँग दर्शन भेटगरेर, तिब्बत यात्राको विवरण निवेदन गरेर, आफ्नो सफलताको कथा राजालाई सुनाएर, राजाको स्याबासी थापेर पछि मात्रै आफ्नो घर जाने विचारले उनी हनुमान ढोका दरवार पुगे ।

तर जनतामा भीम मल्लको बढ्दो लोकप्रियता, पुरुषार्थ, कूटनीतिक कौशल र दरवारमा उनको शक्ति र प्रभावबाट जलेका उनका विरोधी भाइ भारदारले तिब्बतको समेत मद्दत लिएर भीम मल्ल राजालाई पदच्यूत गरेर आफैँ राजा हुन खोज्दैछ भन्ने झुठो खबर राजा लक्ष्मीनरसिंह मल्ल समक्ष पुर्याएका थिए ।

त्यसैले भीम मल्ल राजा हटाएर आफैँ राजा हुने उद्देश्यले आफ्नो घर पनि नगई सोझै हनुमानढोका आइरहेको भ्रममा राजाले आफ्नो कक्ष नजिकै आइपुगेका भीम मल्ललाई काट्न लगाए ।

२. थुनामा नै मरे/मारिए नेपालको सीमानालाई टिष्टा र काँगडा सम्म पुर्याउने बहादुर शाह

सन् १७८५ मा नेपाल राज्यको नायवी सम्हालेका बहादुर शाहले सन् १७९१ सम्ममा पर्वत, गुल्मी र अर्घा खाँचीदेखि कुमाउ-गढवालसम्म नेपाल राज्यलाई विस्तार गरेपछि तिब्बतसँगको विवाद सल्ट्याउने क्रममा नेपाल-तिब्बत युद्धमा त सानदार सफलता हाँसिल गरे ।

उनको नेतृत्वमा केरुङ्, कुती र सिगात्सेसम्म नेपालको नियन्त्रण कायम भएको थियो । १७८९मा नेपाल र तिब्बत वीच नेपालको हित र स्वार्थ अनुकूल सन्धि भैसकेको थियो तर पछि फेरि तिब्बतको पक्षमा लड्न ठूलो सैन्य बलसहित चीन आयो ।

नेपाल राज्यलाई कुमाउ-गढवाल सम्म विस्तार गर्दाको लामो युद्ध, त्यसपछि तिब्बतसँगको युद्ध अनि फेरि महाचीनसँग युद्ध गर्नुपर्दा नेपालको साधन, स्रोत र सामर्थ्य अपुग हुने नै भयो ।

सेना थाकिसकेको थियो ।

नेपालले चीनसँग सकेन ।

युद्धमा नेपाल पराजित भयो ।

१७९२ मा चीन सरकारसँग अपमानजनक सन्धिमा हस्ताक्षर गर्न नेपाल वाध्य भयो ।

नेपाल र तिब्बत वीच मोटामोटी आजको सीमाना कायम हुने गरी सन्धि भयो ।

नेपाल र चीन वीच युद्ध जारी रहँदै अङ्ग्रेज सरकारसँग व्यापारिक सन्धि गरेर चीनसँगको युद्धको लागि अत्यावश्यक सैन्य सामग्री समेत ल्याउने बहादुर शाहको योजना थियो ।

मार्च १७९२ मा नेपाल र भारत सरकार वीच एउटा सन्धि भयो ।

तर ब्रिटिस भारत सरकार नेपाललाई हात हतियारको सहयोग गरेर चीनसँगको सम्वन्धमा समस्या थप्न तयार भएन ।

तर नेपाल चीन युद्धको परिवेशलाई नजिकबाट बुझ्न, नेपालको भूगोल,इतिहास र राजनीति आदिबारे पूर्ण जानकारी बटुल्ने, व्यापारिक सम्भावनाको खोजी गर्ने उद्देस्यले कम्पनी सरकारले आफ्नो प्रतिनिधि मण्डल नेपाल पठाउन चाहेको पत्र पठायो ।

नेपालले त्यसमा मन्जूरी दियो र क्याप्टेन किर्कप्याट्रिक नेतृत्वको एउटा प्रतिनिधि मण्डल नेपाल आयो ।

उनै किर्कप्याट्रिकले नेपाल भ्रमणमा आफूले पाएको जानकारी समेटेको पुस्तक पनि बजारमा पाइन्छ ।

रण बहादुर शाह पनि ठूला भइसकेका थिए ।

पृथ्वी नारायण शाहले निर्माण गरेको नेपाललाई दुई गुणा ठूलो बनाउने कार्यको नेतृत्व गरेका र नेपाल जस्तो अवस्थाको मुलुकले संसारका दुई ठूला र शाक्तिशाली मुलुक चीन र ब्रिटिस भारतसँग समेत सन्धि गरेर नेपालको अन्तर्राष्ट्रिय परिचय निर्माण गराउन योगदान पुर्याएका बहादुर शाहको व्यक्तित्वबाट आत्तिएका उनका विरोधी र भारदारहरूको लहै लहैमा लागेर रणबहादुर शाहले १७९४ बहादुर शाहलाई मुख्तियार र नायवीबाट खोसे ।
कुनै पदमा नरहे पनि बहादुर शाह जनता र फौजमा अत्यन्त लोकप्रिय थिए ।

त्यो लोकप्रियताबाट डराएका रण बहादुर र उनका मतियारहरूले अव बहादुर शाहसँग नेपाल राज्यको विस्तार गर्दाको युद्ध अवधि र नेपाल-तिब्बत-चीन युद्धको खर्चको हिसाव माग गरे ।

यो आफूलाई फसाउने अभिप्राय हो भन्ने बुझेका बहादुर शाहले राजा र आफ्ना वीच मध्यस्थता गरिदिन चीनका बादशाहसँग भेट्न पेकिङ्ग जाने अनुमति मिलाइदिन ल्हासा स्थित चीनिया दुतलाई पत्र लेखे ।

तत्कालीन ब्रिटिस भारत सरकारमा बहादुर शाह विरोधी नेपालका पूर्व र वर्तमान भारदारहरूको वर्चस्व देखिएकाले उनले पहिला जस्तै भारत तिर जाने विचार गरेनन् ।

रण बहादुर शाह र वहादुर शाहका विरोधीलाई पुगि गयो ।

बहादुर शाह विरूद्ध अभियोगहरूको लामो सूची उनीहरूले ल्हासामा चीनियाँ दूतलाई पठाए र बहादुर शाहलाई थुनामा हाले र अत्यन्त सन्देहपूर्ण स्थितिमा थुनामा नै जुलाई ९, १९९७मा बहादुर शाहको निधन भयो ।

३. दामोदर पाँडे, भीमसेन थापा, रणजङ्ग पाँडे, माथवर सिंह थापा आदि बहादुर शाहको नेतृत्वमा नेपालको राज्य विस्तारका अर्का महानायक थिए दामोदर पाँडे ।

आफ्ना बौलठ्ठीपूर्ण कार्यहरूले सीमा नाघे पछि र नेपालमा टिक्न नसकी काशीतिर लागेका रण बहादुर र नेपाल सरकारवीचको द्वन्द्वमा कम्पनी सरकारले रूची लियो ।

रण बहादुर शाहको बौलठ्ठीपनवाट मुलुकलाई जोगाउने उद्देस्यले रानी सुवर्णप्रभाको नायवी अन्तर्गत सर्वशक्तिमान बनेका काजी दामोदर पाँडेले सन् १८०१मा अंग्रेज सरकार सँग एउटा सन्धि गरे ।

अक्टोबर १८०१मा अङ्ग्रेज सरकारले सन्धिलाई अनुमोदन गरिसकेको थियो तर नेपालले विधि पूर्वक अनुमोदन गर्न बाँकी नै थियो ।

सन्धि अनुसार किर्कप्याट्रिक मिसनका अर्का सदस्य क्याप्टेन नक्स नेपालका लागि अङ्ग्रेज सरकारका दुत बनेर काठमाडौँ आए ।

नेपालका सवै प्रमुख भाइ भारदारहरू भित्र भित्रै रण बहादुर शाह र सुवर्णप्रभा समूहमा विभाजित रहेको समयमा ब्रिटिस दुतप्रति काठमाडौँ अत्यन्त असहिष्णु र असहयोगी हुन पुगेको थियो ।

सन्धिका प्रवन्धहरू कार्यान्वयन गराउन सक्ने अवस्था रहेन ।

ऊता काशीमा निर्वाशित रहेका राजा रण बहादुर शाहलाई उक्त सन्धि आफ्नो शक्ति प्राप्त गर्ने अवशर लाग्यो ।

काशीमा विभिन्न कालखण्डमा नेपालको राजकाजमा ठाउँ नपाएर वा लखेटिएर लामो समय देखि निर्वाशनमा रहेका व्यक्तिहरूको ठूलो सङ्ख्या रणबहादुर शाह मार्फत नेपाल फर्किएर आफ्नो प्रभुत्व स्थापनाको रणनीति बुन्न थाले ।

रण बहादुर शाहले अङ्ग्रेज शासन विरोधी उग्र प्रतिक्रिया दिन लागे ।

अङ्ग्रेजसँगको सन् १८०१को सन्धि राष्ट्र विरोधी गद्दारहरूको षड्यन्त्र बताउन थाले ।

उनको पक्षमा काशीमा रहेका मानिसहरूको ठूलो समर्थन जुटे पछि उनी नेपाल फर्किए ।

नेपाल दरवारले सन्धि कार्यान्वयनमा कुनै चित्त बुझ्दो रूचि र प्रतिवद्धता प्रदर्शन नगरे पछि अङ्ग्रेज सरकारले उनलाई काशीमा रोकेर राख्ने मन गरेन ।
उनी नेपाल फर्किए ।

उनलाई रोक्न खटिएको सेना उनकै पक्षमा लाग्यो ।

राजकाज हातमा लिए ।

रानी सुवर्णप्रभालाई हेलम्बु धपाए र दामोदर पाँडेलाई काट्न लगाए ।

उनै वीर दामोदर पाँडे काटिएको ठाउँमा हाल शहिद गेट छ ।

भीमसेन थापा, रणजंग पाँडे, माथवर सिंह थापाहरूको पतन पछाडि पनि नेपाल र ब्रिटिस भारत सँगको सम्बन्ध नै रहेको प्रष्ट छ ।

४. मोहन शमशेरदेखि ओलीसम्म

प्रष्टसँग नेपालको स्वतन्त्रता र प्रभुसत्तालाई मान्यता दिएको कुनै लिखित दस्तावेजमा भारतसँगको १९०५० को सन्धि पहिलो हो ।

तर यो सन्धिमा हस्ताक्षर गरेको आठौँ महिनामा राणा शासन समाप्त भयो ।

विश्वेश्वरप्रसाद कोइरालाले चीनसँग सीमा सम्झौता गरेको केही महिनामा नै उनी हटाइए, थुनिए, लखेटिए ।

राजा वीरेन्द्रले चीनसँग हात -हतियार खरिद गरे ।

सार्वजनिक नभए पनि र अझै गोप्य नै रहे पनि कुनै सम्झौता वा लेखापढी नभई दुई मुलुकका सरकार वीच त्यस्तो खरिद भएको नहोला !

तर त्यो सम्झौता र हतियार खरिदले पंचायत व्यवस्था अर्थात राजाको नेतृत्वको शासन प्रणालीलाई अन्त्य गर्यो ।

सार्कमा चीनको उपस्थितिको पक्ष पोषण गरेको र अफगानिस्तानको सदस्यताको विरोध गरेकै कारण राजा ज्ञानेन्द्र हटाइए ।

चीनसँग पारवहन सन्धि गरे वापत ओलीको पहिलो सरकार ढल्यो ।

भारतीय नाकाबन्दीलाई प्रष्टसँग नाकाबन्दी भन्न नसक्दा र एमसिसी सम्झौता गर्दा नेपाली काङ्ग्रेस र देउवा सरकार गएको चुनावमा सोत्तर पर्यो ।

एमसिसीमा बलियो प्रतिवद्धता प्रदर्शन गरेका दिनदेखि ओली सरकार विवादै विवादमा घेरिएको छ ।

अहिले उनलाई टिकाउन कुनै विदेशी शाक्ति कम्मर कसेर लागेको र अर्को त्यस्तै शक्ति हटाउन पनि त्यसरी नै लागि परेको देख्ने-बुझ्ने गरिएको छ ।

उनको समर्थन र विरोध पछाडि आन्तरिक कारण भन्दा मूलतः वाह्य कारण देखिन्छन ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।

यो पनि पढ्नुहोस्

नेपालको वर्तमान राजनीतिक संकटका विविध पाटाहरू

राष्ट्रको हित, उन्नति र योग्य व्यक्तिलाई योग्य स्थान

किन राष्ट्रिय सँस्था र नेतृत्व निर्माण गर्न सकिएन ?

पछिल्लो कालखण्डको भारतीय राजनीतिको नेपाल परिणाम

हामीलाई स्वतन्त्र राज्यको रूपमा नेपाल किन चाहियो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !