१४ बैशाख २०८१, शुक्रबार

संविधान निर्माण, घटना र अनुभूति : पुस्तक समीक्षा


संविधान निर्माण, घटना र अनुभूति : पुस्तक समीक्षा

संविधान देशको मूल कानून हो । मुलुकको सम्पूर्ण शासन व्यवस्था संविधान र यस अन्तर्गत बनेको कानुन अनुसार सञ्चालन हुन्छ । नागरिकका मौलिक हक अधिकार र तिनको सुरक्षाको व्यवस्था संविधानले नै गर्छ । संविधानले सरकारको स्वरूप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाई वैधता प्रदान गर्दछ । विभिन्न चुनौती र अवरोधलाई पार गर्दै दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भई देशमा उत्पन्न राजनीतिक र संवैधानिक शून्यतालाई हटाएर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको महत्वपूर्ण आधार निर्माण भएको थियो । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भूमिकालाई नेपालको संबिधान, २०७२ ले सुनिश्चित गरिदिएको छ ।

६ पटक मन्त्री भईसकेका पूर्वमन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहद्वारा लिखित ‘संविधान निर्माण : घटना र अनुभूति’ नामक पुस्तक प्रकाशन भएको छ । उहाँ तीन पटक कानुन मन्त्री, दुई पटक खानेपानी तथा सरसफाई मन्त्री र एक पटक विज्ञान तथा प्रविधि मन्त्री हुनु भएको थियो । यसरी तीन पटक कानुन मन्त्री हुनु भएका अनुभवी मन्त्री सिंहद्वारा लिखित उक्त पुस्तकमा नेपालको संविधान निमार्ण र कार्यान्वयनका हरेक घटनाहरुमा लेखकको अनुभव र अनुभुति समावेश गरिएको छ । कालीकोटमा जन्मिएर पनि नेपाली राजनीतिको केन्द्रमा छाएका बौद्धिक राजनीतिज्ञ सिंह लामो समय संविधान निर्माणका एक मुख्य अभियन्ता समेत हुनुहुन्छ ।

उहाँले संविधान निर्माणका बेला मुख्यतः तीन दल (कांग्रेस, एमाले र माओवादी) लाई एक ठाउँमा ल्याएर विवादको समाधान गर्दै संविधान निर्माण गर्न अहम् भूमिका पनि खेल्नु भएको थियो । संविधान निर्माणको बेला भएका ऐतिहासिक घटनाक्रमहरुलाई दस्वावेजीकरण गर्ने प्रयास स्वरुप सिंहले यो पुस्तक तयार पार्नु भएको हो । नेपालमा संविधान सभाबाट संविधान कसरी लेखियो भन्ने इतिहास भावी पुस्तालाई जानकारी दिने उक्त पुस्तक नेपालको संविधान निर्माणको बारेमा सन्दर्भ सामाग्री हुने देखिन्छ ।

नेपालको संविधान राजनीतिक दलहरु वीचको साझा सहमति र संकल्पको जीवन्त एवं गतिशील दस्तावेज हो । यो कुनै असंशोधनीय धार्मिक ग्रन्थ होइन । संविधानसभावाट जारी भएको नेपालको संविधानले संविधान जारी हुदाँका वखतसम्म भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र वलिदानवाट प्राप्त उपलव्धिहरुलाई संस्थागत गर्दै तत्कालिन आवश्यकता र जनचाहनालाई सम्वोधन गरेको छ । यसले भावी पुस्तालाई निर्देशन गरेको छैन र गर्नु पनि हुदैन । समयमा आएको परिवर्तन र जनचाहनालाई संशोधनको माध्यमद्वारा सम्बोधन गर्दै संविधानलाई जीवन्त एवं गतिशिल दस्तावेजको रुपमा अघि वढाउने अभ्यास र सिद्धान्तलाई नेपालको संविधानले आत्मसात गरेको तथ्य लेखकले स्पष्ट पार्नु भएको छ ।

नेपालमा थोरै मात्र राजनीतिक नेताहरुले आफ्नो राजनीतिक जीवनको अनुभवलाई पुस्तकका रुपमा प्रकाशित गर्ने गरेकोमा पनि संविधान निर्माणको कुरालाई त कसैले पनि पुस्तकको आकार नदिएको बेला सिंहले त्यो कुरालाई दस्तावेजीकरण गर्ने प्रयास गर्नुभएको छ । पहिलो संविधान सभाको विघटन र फेरि दोस्रो पटक भएको संविधान सभाको चुनावमा समेत संविधान सभा सदस्य बन्दै मन्त्री भएका सिंहले संविधान निर्माणको अनुभवलाई गहन विश्लेषण गरी पुस्तकमा उतार्नु भएको छ ।

संविधान निर्माण र कार्यान्वयन सम्बन्धी ऐतिहासिक घटनाक्रमलाई लिपिबद्ध गरिएको उक्त पुस्तकमा संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, संसदीय दलका नेता, संसदीय समितिका सभापति, संविधान निर्माणको अविस्मरणीय घटना र स्मरणीय व्यक्तित्वको भूमिका र विश्लेषण लगायतका विषयवस्तु समावेश गरिएको छ । यस पुस्तकमा नेपालको संविधान सबै राजनीतिक दलबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा रहेकाले सबैले उठाएका मुद्दा र विषय समेटिएको छ । नेपाली जनताको ठूलो बलिदानबाट गठन भएको संविधानसभाबाट युगान्तकारी घटनाको रुपमा भएको संविधान निर्माण र जारी हुँदाका बखतका घटना र अनुभूतिलाई समेटिएको पुस्तकले भावी पुस्तालाई नेपालको संवैधानिक इतिहास बुझ्नमा योगदान पुग्ने देखिन्छ ।

संविधान निर्माणमा राजनीतिक दल, संविधानसभा सदस्य, नागरिक समाज संघसस्था र मिडियाको भूमिकाको यथोचित मूल्याङ्कन गर्नुको साथै पहिलो संविधानसभाको विघटन पश्चात उत्पन्न गतिरोधको सामना गरी संविधानसभावाटै संविधान जारी गर्ने उदघोष सहित तत्कालिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्ड संयोजक र समाजवादी जनता पार्टीका अध्यक्ष लेखक श्री प्रेमबहादुर सिंह प्रवक्ता रहेको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धन, नेपाल’ र दोस्रो संविधानसभाको संविधान निर्माणको निर्णायक घडीमा गठन भएको ‘३० दलीय गठवन्धन’ ले संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिका र संविधान निर्माण र कार्यान्वयनका क्रममा भएका सहकार्य, मित्रता, घात-प्रतिघात र विश्वास घातलाई पुस्तकमा ब्याख्या र विश्लेशण गरिएको छ । यसले राजनीतिमा हुने सहकार्य र मित्रतासंगै घात-प्रतिघात र विश्वास घात भएका तथ्यलाई समेत उजागर गरेको छ ।

‘संविधानको उत्कृष्टता कागजमा भन्दा पनि कार्यान्वयनमा देखिने भएकोले राज्य र सवै राजनीतिक दलहरु संविधानको कार्यान्वयनमा जिम्मेवार हुनु आवश्यक भएको तथ्यतर्फ इंगित गर्दै लेखकले संविधानको अक्षरश ईमान्दार कार्यान्वयनवाट मात्र देशमा शान्ति, सुशासन, विकास र समृद्धि कायम हुने, त्यसका लागि संविधान कार्यान्वयनको क्रममा तीनै तहमा निर्वाचित, गठित एवं क्रियाशील कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, राजनीतिक दल र जनप्रतिनिधिहरुवाट संविधानको कार्यान्वयन, सुशासन विकास र समृद्धिप्रति जिम्मेवार एवं ईमान्दार प्रतिवद्धताको अपेक्षा र विश्वास गर्नु भएको छ । यसको साथै पुस्तकमा सुशासन र दिगो एवं मानवकेन्दित विकासका लागि विश्वव्यापी रुपमा गरिएको अभ्यास र त्यसका लागि नेपालले अवलम्वन गर्नुपर्ने मापदण्डवारे सविस्तार व्याख्या गरिएको छ ।

पुस्तकमा नेपालको संविधान निमार्णको लागि पहिलो संविधानसभाले व्यतित गरेको १४६१ दिन (४ वर्ष १ दिन) र दोस्रो संविधानसभाले व्यतित गरेको ६३८ दिन (१ वर्ष ९ महिना ३ दिन) गरि संविधानसभाले संविधान निमार्णमा व्यतित गरेको जम्मा २०९९ दिन (५ वर्ष ९ महिना ४ दिन) को सम्पूर्ण घटना विवरण एवं विश्लेषण छ । “संविधान निर्माण घटना र अनुभूति” नामक यो पुस्तकको पृष्ठ संख्या ६५६ रहेको छ र पुस्तकलाई ८ भागमा विभाजन गरिएको छ ।

संविधान निमार्ण र कार्यान्वयन सम्वन्धि छरिएर रहेका हजारौं तथ्य तथ्यांकहरुलाई एकिकरण र सम्पादन गरी तयार पारिएको ‘संविधान निमार्ण : घटना र अनुभूति’ नामक पुस्तक नेपालको संविधान निमार्ण र कार्यान्वयन सम्वन्धी अभिरुची राख्ने पाठक, अनुसन्धानकर्ता, शिक्षक, प्राध्यापक, विद्यार्थी, राजनीतिकर्मी, पत्रकार, कानुन व्यवसायी, न्यायकर्मी लगायत सवै पाठकका लागि सन्दर्भ सामाग्री हुने प्रष्ट देखिन्छ ।

(गोपाल भण्डारी नेपालपत्र डट कम अनलाइनका प्रधान-सम्पादक, अनुसन्धान तथा विकास प्रतिष्ठान संस्थाका अध्यक्ष तथा नेपालको दोस्रो संविधानसभा तथा व्यवस्थापिका संसदका सदस्यहरु पुस्तकका लेखक हुनुहुन्छ।)

पुस्तकको लागि यो नम्वरमा सम्पर्क गर्नुहोला : ९८४००५००६९


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !