२५ बैशाख २०८१, मंगलबार

कालीमार्सी धान रोपण


कालीमार्सी धान

खलङ्गा, १३ जेठ । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा कालीमार्सी धान रोपिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धन केन्द्रको सहजीकरणमा धान रोपिएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो ।

गत वर्ष सो स्थानमा दुई हजार वर्गमिटर क्षेत्रफल जग्गामा धान रोपिएकामा यस वर्षदेखि पाँच हजार वर्गमिटर क्षेत्रफल खेतमा धान रोपिएको छ । विश्वको उच्च स्थानमा धान फल्ने छुमचौर ज्युलोको संरक्षण गर्नका लागि कालीमार्सी धान रोपिएको पातरासी–३ का वडाध्यक्ष वृषराज बोहोराले बताउनुभयो ।

पातारासीका अध्यक्ष लछिमनले विश्वको उच्च स्थानमा अहिले पनि छुमचौर ज्युलोमा धान फलेको देखाउन गाउँपालिकाले गत वर्षदेखि धान रोप्न शुरुआत गरेको बताउनुभयो ।” विश्वभर पर्यटन प्रवद्र्धनको प्रचारप्रसारका अभावमा ओझेल परेको छुमचौरलाई प्रदेश र संघीय सरकारले पर्यटनको गन्तव्यमा समावेश गरे पर्यटनको सम्भावना हुने गाउँपालिकाले जनाएको छ ।

कालीमार्सी प्रवद्र्धन केन्द्रका अध्यक्ष कलिमान महताराले विश्वको सबैभन्दा अग्लो स्थानमा फलेको धानबाट उत्पादन हुने चामल विस्तारै देशका विभिन्न शहरमा राम्रो मूल्यमा बिक्रीवितरण भएको बताउनुभयो । कालीमार्सी धान संरक्षण गर्न स्थानीय सरकारले मात्र नसक्ने भएकाले प्रदेश सरकारले धान खेती गर्ने किसानलाई विभिन्न प्रकारका राहतका कार्यक्रम ल्याउनुपर्ने माग प्रबद्र्धन केन्द्रका अध्यक्ष महताराले गर्नुभयो । यहाँका सबै स्थानीय तहमा कालीमार्सी धानको खेती हुने गरको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !