२० बैशाख २०८१, बिहिबार

कृषकलाई अनुदानको ठाउँमा नयाँ प्रविधिको माग


रकम

रामपुर, १५ माघ । पाल्पामा युवाहरुलाई कृषि व्यवसाय गर्न कृषिमा अनुदान रकम प्रोत्साहनस्वरूप उपलब्ध गराइएको छ । अनुदान रकमले केहीले सही ठाउँमै राम्रै सदुपयोग गरेका छन् त केहीले अनुदान लिनका लागि मात्र व्यवसाय गरेको पाइएको छ ।

यसबाट राज्यले जुन उद्देश्यले बजेट दिएको छ सोअनुसार सही ठाउँमा उपयोग नभएको रामपुरका कृषकको गुनासो छ । रामपुर नगरपालिका–४ को कार्यालयले आयोजना गरेको कृषकसँगको अन्तरक्रिया कार्यक्रममा कृषकले अनुदानको ठाउँमा प्रविधिको माग गरेका छन् ।

कृषकलाई अनुदानमुखी नभई प्रविधि सिकाएर व्यवसायमुखी बनाउन सकियो भने कृषि व्यवसायबाट मनग्य आम्दानी लिनसक्ने अगुवा कृषक दिलबहादुर थापा बताउनुहुन्छ । “अनुदानले व्यवसायमुखीभन्दा पनि के पाइन्छ कति पाइएला भन्नेमा मात्र सीमित बनायो, कृषकलाई अनुदानको ठाउँमा खेती गर्ने प्रविधि आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले जग्गा भाडामा लिएर करिब दश रोपनीभन्दा बढी जग्गामा तरकारी खेती गर्नुभएको छ । विदेशबाट फर्केर तरकारीखेती शुरु गर्नुभएका थापाले आफूले खेती गर्ने प्रविधि नजान्दा व्यवसायमा समस्या पर्ने गरेको बताउनुभयो ।

धेरैजसो कृषकले प्रविधि नबुझेर खेती गर्दा लागत अनुसारको उत्पादन लिन नसकेको अर्का कृषक विनोद श्रेष्ठ बताउनुहुन्छ । जानी नजानी बिनाप्रविधि व्यवसाय शुरु गर्दा उत्पादन लिन नसकेको श्रेष्ठको भनाइ छ । “कृषकले अनुदानमा लोभिएर व्यवसाय गर्दा अनुदान अवधि सकिने बित्तिकै व्यवसायबाट पलायन भएका छन्, अनुदानभन्दा पनि व्यवसाय गर्ने नयाँ तरिका सिकाउन सके त्यसबाट दीर्घकालीन प्रतिफल लिन सकिन्छ”, उहाँले भन्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी कृषकले वास्तविक कृषकले सेवा सुविधा नपाउने र टाठाबाठा कृषकको मात्र अनुदानमा हालीमुहाली रहेको बताए । अनुदानमा वास्तविक कृषकलाई भन्दा पनि आफन्त र नजिकका व्यक्तिहरुलाई नै पटकपटक छनोट गरिँदा अनुदानको अवधिभर मात्र व्यवसाय गर्ने र अनुदान अवधि सकिएपछि व्यवसाय पनि छाड्ने क्रम बढेको छ । वास्तविक कृषक पहिचान हुनुपर्ने कृषकको माग छ ।

साना कृषकलाई उपेक्षा र नक्कली कृषकको अनुदानमा हालीमुहाली भएका कारण उत्पादकत्व नबढेको अन्तरक्रियामा सहभागीले बताएका छन् । अब रामपुर नगरलाई समृद्ध बनाउन साना र वास्तविक कृषकको संरक्षण हुनुपर्ने कृषकको सुझाव छ ।

नगरपालिकाले एक वडा एक उत्पादन नीति ल्याएको छ । कृषकलाई प्रविधिमा दक्ष बनाउन र नयाँ कुरा सिकाउन ठूलो क्षमताको उच्च प्रविधिको (हाइटेक) टनेल निर्माण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । “युवाहरुलाई यहीँ बसेर कृषि व्यवसाय गर्न प्रोत्साहन गर्दै प्रविधि सिकाउन हाइटेक बनाएका छौँ, यसबाट प्रत्यक्ष धेरै ज्ञान सीप सिकेर खेती गर्न कृषकलाई सहयोग मिल्नेछ”, नगर प्रमुख थापाले भन्नुभयो । कृषकलाई आवश्यक पर्ने प्रविधि तथा ज्ञान सीप उपलब्ध गराउने र उत्पादित तरकारीले बजार नपाएमा नगरपालिकाले बिक्रीको प्रबन्ध मिलाइदिने नगर प्रमुख थापाले बताउनुभयो ।

नगरपालिका तथा वडा कार्यालयबाट कृषि अनुदान सुविधा लिएका कृषकको व्यवसाय अनुगमन गर्ने र उद्देश्यअनुसार नगरेको पाइएमा सेवा सुविधा कटौती गर्ने प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताउनुभयो । वडा नं ४ को कार्यालयले वडाका टोलटोल बस्तीबस्तीमा पुगेर कृषकको व्यवसाय अनुगमन गरेर मात्र विभिन्न कृषि सामग्री तथा बीउविजन वितरण गर्ने गरिएको वडाध्यक्ष एकबहादुर नेपालीले बताउनुभयो ।

व्यवसायमा हौसला प्रदान गर्न कृषि सामग्री, बीउविजन सहयोग र विभिन्न बाली लगाउने तरिका, गोडमेल, उत्पादन र बजारीकरणका सम्बन्धमा कृषि प्राविधिक बोलाएर कृषकलाई तालीम दिने गरेको अध्यक्ष नेपाली बताउनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !