२० बैशाख २०८१, बिहिबार

आज दोस्रो राष्ट्रिय जैविक विविधता दिवस, जैविक विविधता सप्ताह सुरू


राष्ट्रिय जैविक विविधता दिवस

काठमाडौँ । आज माघ १ गते दोस्रो राष्ट्रिय जैविक विविधता वर्ष देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपाल सरकारको निर्णय अनुरूप गत वर्षदेखि दिवस मनाउन थालिएको हो ।

कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयोजकत्वमा सोमवारदेखि राष्ट्रिय जैविक विविधता सप्ताह मनाइन सुरू गरिएको छ। यस अवसरमा जैविक विविधताको क्षेत्रमा काम गर्ने विभिन्न निकायले आआफ्नै तरिकाले सप्ताहव्यापी कार्यक्रम गर्दैछन् ।

यो वर्षको नारा ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदास संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ तय गरिएको छ ।

पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेति प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधता र खासगरी कृषि जैविक विविधताको ह्रासलाई तिव्र बनाएकोप्रति गम्भीर बन्दै सरकारले हरेक वर्ष यो दिवस मनाउने निर्णय गरेको हो ।

नेपालमा कृषि आनुवंशिक श्रोत (कृषि बाली एवं सम्बन्धित जंगली प्रजाती, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक श्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव) मध्ये करिव ४० प्रतिशत लोप भै सकेको हुन सक्ने अनुमान गरिएको छ ।

नेपालका कैयन सामाजिक, धार्मिक तथा साँस्कृतिक परम्परा एवं अवसरहरु कृषि जैविक विविधतासंग जोडिएका भएतापनि त्यस्ता विशेष पर्व वा अवसरहरुमा अन्तरनिहित कृषि जैविक विविधतासंग सम्वन्धित पक्षहरुलाई अपेक्षित रुपमा उजागर एवं प्रचार प्रसार गर्न नसकिएकाले पनि दिवसले सचेतना बढाउन काम गर्ने कृषि विभागका महानिर्देशक हरि बहादुर केसीले बताए ।

कृषि जैविक विविधताको महत्व र यसको संरक्षण बारे आम सर्वसाधारण र सरोकारवाला सबै पक्षहरु जानकार र सचेत भइ तिनको संरक्षण र दिगो उपयोगमा जोड दिनु पर्ने टड्कारो आवश्यकता रहेको सरकारको ठम्याइछ ।

सात वटै प्रदेश र मातहतका निकायहरु, सबै स्थानीय तहहरु, कृषक, कृषक समुहरसहकारी, विभिन्न संघरसंस्था, मिडिया र सम्पूर्ण सरोकारवालाहरुमा कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयले विज्ञप्ती सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय कृषि जैविक विविधता दिवसको नारामा आधारित रहेर कृषि आनुवंशिक श्रोतहरु र कृषकका परम्परागत ज्ञान समेतको संरक्षण र दिगो उपयोगमा सचेतना अभिवृद्धि लगायतका कार्यक्रम तथा क्रियाकलाप सप्ताहव्यापी रुपमा मनाउन आव्हान गरेको छ ।

जैविक विविधता सप्ताहको अवसरमा रैथाने एग्री प्रडक्टस् नेपाल, मौलिक बजार र मौलिक भान्साघर, होमस्टे (घरवास) महासंघ नेपाल, एफ ए ओ नेपाल, सामुदायिक बीउ बैंक संघ नेपाल, राष्ट्रिय जीन बैंक, नेपाल कृषि अनुसन्धान परिषद्, ग्यास्ट्रोनोमी टुरिजम एसोसियसन नेपाल, कृषि सूचना तथा संचार केन्द्र, लीबर्ड , कृषि ज्ञान केन्द्र र स्थानीय तहसँगको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !