१४ बैशाख २०८१, शुक्रबार

किसानलाई गहुँ भित्र्याउने चटारो, दललाई चुनावको


gahuu

कैलाली । कैलालीको भजनी नगरपालिका–६ का लालबहादुर चौधरी यतिबेला मङ्सिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा छन् । स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि लालबहादुरलाई कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन ।

राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानसँग पार्टीका नेताको भेट हुन सकेको छैन । त्यसैले पनि होला यतिबेला राजनीतिक दलका चुनाव मुखी प्रचारप्रसार पनि कम भएको देख्न सकिन्छ ।

लालबहादुर मात्रै नभई उहाँका सबै परिवार गहुँ भित्र्याउन व्यस्तमात्रै छैनन् अर्कोतिर चैते धान रोप्ने कामले पनि फुर्सद छैन । “कामको निकै चटारो छ, गहुँ भित्र्याउने चटारो एकातिर छ भने चैते धान रोप्ने चटारो अर्कोतिर”, लालबहादुरले भने, ‘मौसम राम्रो छ, यहीँ मौका छोपेर खेतमा लगाएको गहुँ भित्र्याउन सकेपछि मात्रै अरु कुराका बारेमा सोच्न सकिने छ ।’

उनले धानबाली बाढीका कारण सबै तहसनहस भएको बताउँदै गहुँ बेचेर धान रोप्दा लागेको खर्च तिर्नुपर्ने बाध्यता भएको सुनाए । भजनी–३ का दलबहादुर साउद गहुँखेती भित्र्याएर अहिले चैतेधान रोप्नमा व्यस्त रहेका छन् । वर्षातको समयमा बढी डुबान हुने क्षेत्रको जग्गा भएका कारण उनले वर्षातमा धान रोप्न पाएनन् । मङ्सिरमा लगाएको गहुँ भित्र्याएर चैतमा रोपेको धान जेठको अन्तिममा भित्र्याउने गरी धान रोपाइँ भइरहेको दलबहादुर बताउँछन् ।

“काम नगरेर साँझ बिहानको गुजारा कसरी गर्ने ? वर्षातमा खेतमा कुनै खेती हुँदैन, त्यहीँ भएर पनि यो अहिलेको समय हाम्रा लागि निकै महत्वपूर्ण छ”, दलबहादुरले भने, “हामीलाई चुनावको भन्दा बढी चिन्ता गहुँ बाली भित्र्याउने र धान रोप्नेको छ, समय भयो भने भोट हाल्न जानुपर्ला होइन भने कामभन्दा ठूलो हाम्रा लागि चुनाव होइन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !