२३ बैशाख २०८१, आइतबार

कृषकलाई प्रोत्साहन रकम


दमौली, २१ भदौ । तनहुँको ऋषिङ गाउँपालिकाले कृषकलाई कृषिमा प्रोत्साहित गर्न प्रोत्साहन रकम वितरण गरेको छ । कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत गाउँपालिकाले वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार उक्त वडाका दुई जना बाख्रापालकलाई जनही रु १३ हजार, बङ्गुरपालकलाई जनही रु ११ हजार, एक जना माछापालकलाई रु पाँच हजार र एक जना कुखुरापालकलाई रु पाँच हजारका दरले रकम वितरण गरिएको छ ।

“कृषि क्षेत्रमा राम्रो काम गर्ने कृषकलाई पुरस्कृत गर्न प्रोत्साहन रकम वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले कृषकलाई कृषितर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको विश्वास छ ।” गाउँपालिकाले सबै वडाका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम वितरण गर्ने तयारी गरेको छ । बाँकी सात वडाका कृषकलाई पनि प्रोत्साहन रकम वितरण गरिनेछ । “कार्यविधिअनुसार सबै वडामा कृषि पेशामा अब्बल कृषक छनोट गरेर प्रोत्साहन रकम वितरण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

प्रशासकीय अधिकृत पौडेलका अनुसार यो कार्यक्रम गत आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रम हो । कोभिड–१९ को प्रभावका कारण ढिला गरी कृषकलाई रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अगाडि आठवटै वडाका २०÷२० कृषकलाई जनही रु २० हजारका दरले अनुदान रकम वितरण गरिसकेको छ । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकालाई कृषिमा समृद्ध बनाउने लक्ष्य राखिएको र कृषकलाई सहयोग गर्ने कुरामा गाउँपालिका सदैव प्रतिबद्ध रहेको जानकारी दिनुभयो । “कृषकलाई कृषि पेशातर्फ आकर्षित गराउन गाउँपालिकाले अनुदानको व्यवस्था गरेको छ, यसले गाउँपालिकालाई पनि कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले म्याग्दे गाउँपालिका–७ हर्कपुर निवासी हर्कबहादुर राना मगरको परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । क्यान्सर रोगबाट निधन हुनुभएका उहाँका परिवारलाई इन्स्योरेन्स लिमिटेडले रु २० लाख दाबी भुक्तानी गरेको हो ।

उक्त रकम इन्स्योरेन्स लिमिटेडका दमौली शाखा प्रबन्धक जगदीश काफ्लेले स्वरानाका श्रीमती दमन्ता रानामगरलाई हस्तान्तरण गर्नुभयो । हर्कबहादुरले कम्पनीको काठमाडौँ शाखाबाट दुई वर्ष वैदेशिक रोजगार बीमा गर्नुभएको थियो । कागजपत्र पेश गरेको २७ दिनमा कम्पनीले मृतकका परिवारलाई दाबी भुक्तानी दिएको काफ्लेले जानकारी दिनुभयो ।

“काठमाडौँ गएर भुक्तानी लिन अहिलेको परिस्थितिमा सम्भव नभएकाले सबै कागजपत्र मिलाएर घरमै पुगेर रकम हस्तान्तरण गरेका हाँै”, उहाँले भन्नुभयो । उहाँका अनुसार उक्त रकममध्ये रु १३ लाख कम्पनीको तर्फबाट र रु सात लाख वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत प्रदान गरिएको हो । मृतककी श्रीमती दमन्ताले बीमा साँच्चिकै आर्थिक सुरक्षा दिने छाता रहेको प्रत्याभूति भएको बताउनुभयो । सोही क्रममा उहाँले रु तीन लाख प्रिमियम एकमुष्ट भुक्तानी गरेर रु चार लाख ५२ हजार बीमाङ्कको बीमा गर्नुभएको छ ।

सोह्र श्राद्ध गर्न भिडियोको प्रयोग
देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सोह्र श्राद्ध गर्न भिडियोको प्रयोग गर्नुभएको छ । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपछि उहाँले भिडियोबाटै सोह्र श्राद्ध गर्नुभएको हो ।

पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्न कोरोनाको जोखिम भएकाले भिडियो प्रविधिको प्रयोग गरी श्राद्ध सम्पन्न गरेको सुवेदीले जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिका–११ चितवनमा पितृको श्राद्ध गर्नुभएको हो । यसअघि हरेक वर्ष पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्दै आउनुभएका सुवेदीले घरमै बोलाएर श्राद्ध गर्नु भन्दा भिडियोको माध्यमबाट झन् सजिलो भएको बताउनुभयो । “अहिले पण्डितलाई घरमै बोलाउने अवस्था पनि रहेन, प्रविधिको प्रयोग गरेर श्राद्ध गर्ने काम गरेँ”, उहाँले भन्नुभयो, “यसले गर्दा समय पनि चाँडै सकिने र अन्य झन्झट पनि नहुने ।”

उहाँका अनुसार भिडियो हेर्दा पण्डित छेउमै बसेको अनुभव भएको छ । भिडियो सन्देशमा पण्डितको निर्देशन अनुसारको सबै विधि पु¥याएर श्राद्ध गर्न सहज भएको सुवेदीले बताउनुभयो । आफ्ना अन्य दाजुभाई काठमाडौंमा रहेकामा उनीहरु पनि सोही भिडियोमा जोडिएर श्राद्धको कार्य पूरा गरेको उहाँले जानकारी दिनुभयो ।

“प्रविधिको उच्चतम प्रयोगले पितृ कार्य सहज भएको र कोरोनाको कुनै पनि जोखिम भएन”, उहाँले भन्नुभयो, “सोह्र श्राद्धको अवधिमा पण्डितहरु कम्तीमा पनि चार÷पाँच घरमा पुगेका हुन्छन् । यसले गर्दा दुवै पक्षलाई जोखिम हुने हुँदा अहिलेको अवस्थामा भिडियोको प्रयोग नै उपयुक्त लाग्यो ।”

कुशको टुक्रालाई पण्डित मानेर आफ्नै अगाडि राखेर त्यसलाई टीका लगाएर दक्षिणास्वरुप केही पैसा चढाउन सकिने प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । पण्डितलाई पछि भेटघाटको क्रममा अथवा अन्य केही माध्यमबाट दक्षिणा दिन सकिने उहाँले जानकारी दिनुभयो । कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएझै हिन्दूहरुको वार्षिक पितृ अर्पण कार्य सोह्र श्राद्ध पनि प्रभावित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !