२३ आश्विन २०८३, शुक्रबार

होमस्टेको प्रवद्र्धनका लागि ९० लाख अनुदान


तीन करोड

१२ चैत, गोरखा । गोरखा जिल्लामा विभिन्न नौ होमस्टे (घरबास) को प्रवद्र्धनका लागि रु ९० लाख अनुदान उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेशअन्तर्गतको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट स्थानीय तहसँगको सहकार्यमा होमस्टे प्रवद्र्धन कार्यक्रमअन्तर्गत बजेट प्राप्त भएको डिभिजन वन कार्यलय गोरखाका प्रमुख इमनाथ पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत जिल्लाको अजिरकोट गाउँपालिकामा चार, शहीद लखन गाउँपालिकामा दुई, बारपाक सुलीकोट गाउँपालिका, गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा एक÷एक होमस्टेका लागि अनुदान प्राप्त भएको उहाँले जानकारी दिनुभयो । प्रमुख पौडलेका अनुसार प्रत्येक होमस्ेटले रु १०÷१० लाख अनुदान प्राप्त गर्नेछन् ।

“सामुदायिक होमस्टेमा भौतिक पूर्वाधारको क्षेत्रमा खर्च गर्ने गरी प्रदेश सरकारले रकम उपलब्ध गराएको हो”, उहाँले भन्नुभयो, “उक्त अनुदान रकम दुई किस्ता गरेर उपलब्ध गराइने छ ।” अहिले अनुदान प्राप्त गरेका होमस्ेटसँग सम्झौताका लागि तयारी रहेको भन्दै उहाँले चालू आर्थिक वर्षभित्रमै कार्यक्रम सम्पन्न गर्ने गरी काम अघि बढेको बताउनुभयो ।

अनुदान प्राप्त गरेका होमस्टेले कूल प्रस्तावित बजेटको २० प्रतिशत रकम समुदायले खर्च गर्नुपर्नेछ भने १० प्रतिशत रकम स्थानीय तह वा वडा कार्यलयले खर्च गर्ने सुनिश्चित भएपछि ७० प्रतिशत रकम भने कार्यालय उपलब्ध गराउने उहाँले बताउनुभयो । सम्झौतालगत्तै पहिलो किस्तावापत रु चार लाख उपलब्ध गराउने र प्रस्तावित योजनाअनुसार काम सम्पन्न गरेपछि दोस्रो किस्तावापतको बाँकी रु छ लाख अनुदान उपलब्ध गराउने कार्यविधिमा उल्लेख भएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

जसअनुसार होमस्टे सञ्चालकले रु दुई लाख ८५ हजार ५७३ र सम्बन्धित स्थानीय तह वा वडा कार्यालयले रु एक लाख ४२ हजार ८५८ बाह्य संरचना निर्माणका लागि खर्च गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रमअनुसार अनुदान प्राप्त गरेका होमस्टेले सम्झौताअनुसार रकम खर्च गरे÷नगरेको वन कार्यालयले अनुगमन गर्ने प्रमुख पौडेलले जानकारी दिनुभयो ।

अनुदान प्राप्त गर्ने होमस्टेमा अजिरकोट गाउँपालिका–३ र ५ भच्चेकमा रहेको बुद्ध नम्की सामुदायिक होमस्टे, वडा नं ४ सिम्जुङमा रहेको झ्याल्ला भुमे सामुदायिक होमस्टे, वडा नं १ ध्याच्चोकमा रहेको चामे छहरा सामुदायिक होमस्टे, वडा नं ४ स्थित सिम्जुङमा रहेको प्रगति सामुदायिक हामेस्टे रहेका छन् ।

त्यस्तै शहीद लखन गाउँपालिका–७ काउले भङ्गारमा रहेको शहीद लखन सामुदायिक होमस्टे, वडा नं २ मनकामनामा रहेको बेतिनी सामुदायिक होमस्टे, पालुङटार नगरपालिका–३ आपँपिपलमा रहेको पाँच्यान गाउँ सामुदायिक होमस्टे, गोरखा नगरपालिका–५ पस्लाङस्थित पस्लाङ होमस्टे र बारपाक सुलीकोट गाउँपालिका–२ बारपाकमा रहेको बारपाक होमस्टेले पनि अनुदानका लागि मन्त्रालयबाट स्विकृति पाएका छन् । कार्यालय प्रमुख पौडेलका अनुदान प्राप्त गरेका अधिकांश होमस्ेटले पाहुनाका लागि स्वागतगेट, बैठक घर, कोसेली घर, मगर समुदायको संस्कृति झल्कने खालको घुमाउने घर, समुदायभित्र धारा सुधार, होमस्टेभित्र गोरेटो सुधारलगायतका पूर्वाधार विकासमा रकम खर्च गर्ने प्रस्ताव गरेका छन् ।

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि प्रदेश भित्रका ३०० होमस्टेको प्रवद्र्धनका लागि अनुदान उपलब्ध गराउने भन्दै गत पुसमा निवदेन दिन आग्रह गरेको थियो । जसअन्तर्गत गोरखाका ११ सामुदायिक होमस्टेले अनुदानका लागि निवदेन दिएको भए पनि नौ मात्र छनोटमा परेको उहाँले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !