९ बैशाख २०८३, बुधबार

छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री हुनुपर्छ


Pradesh-number-5

२८ फागुन, रुपन्देही । प्रदेश नं ५ सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री बनाउन सरोकारवालाले सुझाव दिएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले आज बुटवलमा आयोजना गरेको “छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक” माथिको अन्तरक्रिया कार्यक्रममा उनीहरुले मिडिया बलियो भएमात्र सरकार बलियो हुने भएकाले मिडियाप्रति उदार बन्न सुझाव दिनुभयो ।

सो अवसरमा प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले समितिले मिडियाकर्मीको सुझावअनुसार नै विधेयक पास हुने बताउनुभयो । “जटिलताको बीचबाट प्रदेशसभा र सरकार अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “हाम्रो नियत खराब छैन, छलफलमा आएका सुझावलाई समेटेर विधेयक आउँछ ।”

कानून मस्यौदा तथा सुझाव आयोगका सदस्य विष्णु पोखरेलले कानून बनाउने कुरा जटिल भएकाले यसमा सबैको सहयोग जरुरी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “बनेको बाटोमा हिँड्नुभन्दा बाटो बनाउन गाह्रो हुन्छ ।” आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव हरिसिंह धामीले विधेयकमाथि भएका त्रुटि छलफलमार्फत सच्याउन सकिने बताउनुभयो । मस्यौदा बनाउने विषय जटिल छ, उहाँले भन्नुभयो, “कानून स्वीकार्न गाह्रो हुन्छ तर सबैले स्वीकार गर्न सक्ने बनाउन जरुरी हुन्छ ।”

पत्रकार महासङ्घका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले विधेयकको प्रस्तावना नै गलत भएकाले सच्याउन आग्रह गर्नुभयो । “मिडियासँग कुनै छलफल नगरी विधेयक ल्याउने तयारी गर्नु गलत हो”, उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्र हुनेगरी विधेयक नआए स्वीकार्दैनौँ ।”

प्रस्तावित छापाखाना र प्रकाशनसम्बन्धी विधेयकबारे अवधारणा पत्र प्रस्तुत गर्दै पत्रकार डिआर घिमिरेले प्रदेशमा बन्ने ऐन कानून मिडियाका लागि लचिलो हुनुपर्ने बताउनुभयो ।

पत्रकार महासङ्घका पूर्वअध्यक्ष विनोद पहाडीले प्रदेश सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेसको घाटी निमोठ्ने काम मान्य हुँदैन ।”

पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले विधेयकमार्फत मिडियालाई सङ्कुचन गर्ने काम नगर्न प्रदेश सरकारलाई सुझाव दिनुभयो । प्रसारण विधेयकमाथि पत्रकार महासङ्घले दिएको सुझाव कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देहीका सल्लाहकार माधव नेपाल, संसदीय मामिला पत्रकार समाजका अध्यक्ष विष्णु घिमिरे, पत्रकार नवराज कुँवर, दामोदर खनाल, दीपेन्द्र बडुवाल, रेखा भुसाल, भवानीप्रसाद पाण्डे, अमृता अनमोल, सिपी खनाललगायतले मिडियालाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !