१४ माघ, कावासोती । नारायणी नदीमा वर्षाको समयमा वन्यजन्तु बगाउने समस्या बढेपछि यसको रोकथामका लागि उच्च स्थली(नदी किनारमा अग्लो भाग) बनाइएको छ ।
वर्षाको समयमा बाढी र डुबानका बेला वन्यजन्तुलाई संरक्षण गर्ने उद्देश्यले नवलपुरको देवचुली नगरपालिकामा पर्ने दिव्य मध्यवर्ती सामुदायिक वनस्थित नारायणी नदीमा उच्च स्थली निर्माण गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने नारायणी नदी आसपास रहेको मध्यवर्ती क्षेत्रमा रहेका विषेशगरी दुर्लभ एक सिङ्गे गैँडासँगै वनमा रहेका हरिण, मृग, जरायो, बँदेल, बाग, भालुलगायतका जनावर वर्षामा नारायणी नदीमा आउने बाढीले नबगाउन र डुबानबाट बच्न सकून भन्ने उद्देश्यले उच्च स्थलीको निर्माण गरिएको निर्माण संयोजक नेत्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।
वन क्षेत्र नारायणी नदी र बौलाहा खोलाको बीचमा पर्ने भएकाले उच्चस्थली निर्माण गरिएको स्थान वर्षेनी बाढी पस्ने र डुबानमा पर्दछ । डुबानबाट बच्न उच्च स्थान नहुँदा वर्षेनी कतिपय जनावर बगेर भारतसम्म पुग्ने र कतिपय जनावरको मृत्यु हुने गरेको छ ।
डुबानका बेला जनावर उच्चस्थलीमा आएर बस्नेछन् भन्ने अपेक्षाले उच्चस्थली निर्माण गरिएको पाण्डेले बताउनुभयो । डब्लुडब्लुएफको तराई भू–परिधि (ताल) कार्यक्रमअन्तर्गत संरक्षित तथा मध्यवर्ती क्षेत्रको रु १० लाख ७२ हजार तथा समुदायको रु ८० हजार गरी कूल ११ लाख ५२ हजारको लागतमा उचस्थली निर्माण गरिएको हो ।
चालीस मिटर लम्बाई, २० मिटर चौडाइ र दुई मिटर उचाइमा उच्चस्थली निर्माण गरिएको छ । नारायणी नदीबाट ५० मिटरको दुरीमा निर्माण गरिएको छ । उच्चस्थलीमा जङ्गली जनाबर सजिलैसँग चड्न वा झर्नसक्ने गरेर बाटोसमेत बनाइएको छ । यसले वन्यजन्तु बाढीका कारण सुरक्षित हुने विश्वास लिइएको छ ।
(रासस)












